एन्फाको नक्कली टि-सर्ट बनाएर बेच्ने ६ जना पक्राउ

Areest
लाेकपाटी न्यूज

काठमाडौं, ७ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) को नक्कली लोगोसमेत प्रयोग गरी टि-सर्ट बनाई बेचबिखन गर्ने ६ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने बाग्लुङ जैमुनी नगरपालिका ९ का २९ वर्षीय चन्द्रदत्त शर्मा, काठमाडौं खुसिबुस्थित बिआरके सप्लायर्सका संचालकद्वय काठमाडौं महानगरपालिका १७ बस्ने रुपन्देहीका ३६ वर्षीय विष्णुप्रसाद कडेंल तथा काठमाडौं महानगरपालिका १७ बस्ने स्याङजाका ३५ वर्षीय सागर पाण्डे, काठमाडौं महाबौद्धस्थित रेडिमेड स्टोरका संचालक काठमाडौं महानगरपालिका ९ बस्ने ५२ वर्षीय गोबिन्द खनाल, काठमाडौं बिशाल बजारस्थित एसि स्पोट्स गोदामका संचालक काठमाडौं बनस्थली बस्ने रौतहटका २५ वर्षीय रामशरण खरेल र काठमाडौं सुन्धारा बस्ने झापाका ३४ वर्षीय निलम बस्नेत रहेका छन्।

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले प्रयोग गर्ने जर्सी एन्फाले अन्तर्राष्ट्रियस्तरको ब्राण्ड केल्मी चाइना कम्पनी लिमिटेडसँग सम्झौता गरी आधिकारिक बिक्री बितरक कामारु ट्रेडिङ प्रालिलाई मात्र अधिकार प्रदान गरेकोमा अन्य व्यक्ति तथा कम्पनीले एन्फाको नक्कली लोगो समेत प्रयोग गरी जर्सी बिक्री बितरण गरेको भन्ने सूचना प्राप्त भएपश्चात सो महाशाखाबाट खटिएको प्रहरीले उक्त जर्सी बिक्री गर्न लिई हिंडेको अवस्थामा चन्द्रदत्तलाई ३२ थान जर्सी तथा बिष्णुप्रसाद र सागरको बिआरके सप्लायर्सबाट ३ सय ३८ थान जर्सी सहित उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा गोबिन्दको रेडिमेड स्टोरबाट २ सय ७४ थान, रामशरणको एसि स्पोट्र्स गोदामबाट २ सय ४२ थान र निलमको सिटि स्पोट्र्सबाट ३० थान नक्कली लोगो भएका जर्सी फेला पारी शुक्रबार उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको सो महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्