‘पत्रकार बस्नेतमाथि सांघातिक आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्छ’

journalist attack01
लाेकपाटी न्यूज

काठमाडौं, ६ असार । सल्लेरी खबर डटकमका प्रवन्धक निर्देशक सुदर्शन बुढाथोकीले आफ्नो अनलाईनका समाचार सम्पादक दिनेश बस्नेतमाथि सांघातिक आक्रमण भएको भन्दै आक्रमणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अनलाईनकर्मीहरुले सम्पादक बस्नेतमाथि असार ५ गते समाचार संकलनका क्रममा झत्तपुरको लोकन्थलीमा आक्रमण भएको जनाए । बस्नेतलाई शैलेश श्रेष्ठ र सञ्जय लामासहितका समूहले सांघातिक आक्रमण गरेको उनीहरुको भनाई छ ।

आक्रमणबाट पत्रकार बस्नेतको टाउकोलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । उनको हाल काठमाडौंस्थित् अन्नपूर्ण न्यूरोमा उपचार भैरहेको छ ।

कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक सुदर्शन बुढाथोकीले पत्रकार बस्नेतमाथि आक्रमण गर्नेमध्ये एकजनालाई पक्राउ गरेको तर मुख्य आक्रमणकारीलाई प्रहरीले पक्राउ नगरेको पनि गुनासो पोखे । उनले भने, ‘पत्रकारलाई आक्रामण गर्नेहरु माथिको पावरमा सुरक्षित छन् भनिएको छ । हामीले आज मात्रै किटानी जाहेरी दिएका छौं । अब हेरौं, दोषीलाई कारबाही हुन्छ कि हुँदैन ।’

उक्त दिन भएको सांघातिक आक्रमणको अडियो रेकर्ड पनि आफूहरुसँग सुरक्षित रहेको बुढाथोकीले जनाए । उनले भने, ‘हाम्रो सम्पादक बस्नेतजी समाचार संकलनको क्रममा सांघातिक आक्रमणमा पर्नुभयो । त्यति बेला उहाँले घट्नाको सम्पूर्ण कुरा अडियोमा रेकर्ड गराउनु भएको थियो ।’ उक्त घटनाबारे पत्रकार महासंघले समेत आज मात्रै प्रेस विज्ञप्ति जारी गरेर निन्दा गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्