काठमाडौं, ६ असार । अमेरिका र इरानबीचको सम्बन्ध थप तनावग्रस्त बनेको छ। परमाणु सम्झौताबाट सुरु भएको यी दुई देशबीचको विवादले यतिबेला खाडी मुलुकहरु समेत चपेटामा परेका छन्।
त्यसमाथि हिजोमात्र इरानले अमेरिकी जासुसी मानवरहित विमान (ड्रोन) लाई इरानले खसालेपछि झनै तनावको अवस्था सृजना भएको छ। विमान खसालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै विमान खसालेर ठुलो गल्ती गरेको भन्दै जवाफी कारवाही गर्ने संकेत दिएका थिए। नभन्दै ट्रम्पले इरानमाथि आक्रमण गर्ने सेनालाई आदेश नै दिएको पुष्टी भएको छ।
उनले इरानका केही ठाउँलाई निशाना बनाउने योजना बनाएका थिए सोही योजना अनुसार सम्पुर्ण तयारी भईसक्दा ट्रम्पले अन्तिम समयमा आएर आक्रमण रोक्न आदेश दिएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन्। न्यूयोर्क टाइम्सले लेखेको छ बिहिबार बेलुकी सात बजेसम्म पनि अमेरिकी सेना र कूटनीतिज्ञहरू इरानका राडार र क्षेप्यास्त्र ब्याट्रीहरू भएका स्थानमा आक्रमण गरिने अपेक्षामा थिए। “हवाइजहाजहरू उडिरहेका थिए। जहाजहरू आवश्यक स्थानमा थिए तर पछाडि हट्ने आदेश आएकाले कुनै क्षेप्यास्त्र प्रहार भएन।”
इरानी जनताहरुलाई क्षति नपुगोस भनेर उक्त आक्रमण अन्तिम समयमा आएर रोकिएको उल्लेख छ। अब सो हमला अमेरिकाले इरानमाथि कहिले गर्छ भन्ने कुरा खुलाईएको छैन। इरानको इस्लामिक रेभोलुसन गार्डस कोर्पस्ले अमेरिकी विमान खसालेको थियो। इरानले अमेरिकी उक्त विमान जासुसीको उदेश्यले पठाईएको र आफनो हवाई क्षेत्रमा आएपछि खसालिएको बताएको छ भने ट्रम्पले आफनो विमानले सिमा क्षेत्र पार नगरेको दाबी गरेका छन्। यसरी अमेरिका र इरानबीचको युद्ध तत्कालका लागि भने टरेको छ। (एजेन्सी)



लाेकपाटी न्यूज

