शान्त रहन योगको अभ्यास आवश्यक छ : प्रधानमन्त्री

yog
लाेकपाटी न्यूज

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताएका छन्।

पाँचौँ अन्तर्रराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीका पुर्खा ध्यानका सर्जक भएकाले नेपाललाई विश्व ध्यान केन्द्रका रुपमा स्थापना गर्नुपर्ने बताए। “अस्वस्थ चिन्तनबाट बच्न योग गरौँ, कर्म र योग दुवै गरौँ, ध्यानले असहिष्णुताबाट जोगाउँछ, ऋषिमुनिले योगलाई जीवनपद्धति बनाएकाले जरिला भरिला बने, आहार, विहार एवं व्यायामले जीवनलाई सन्तुलित बनाउने भएकाले यसको अभ्यास जरुरी छ”, प्रधानमन्त्री ओलीले भने।

वाल्मीकि, विश्वामित्र, वशिष्ठ, व्यासजस्ता ऋषिमुनिले नेपालभूमिमै साधना गरेकाले यो तपोभूमि, ज्ञानभूमि एवं शान्तिभूमिका रुपमा विश्वमा परिचित भएको उनले बताए। केही स्थानमा त्रेतायुगका योगस्थ अवस्थाका मुद्रा भेटिएकाले योगको प्राचीनतालाई प्रमाणित गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो। दिनभर ताजारुपमा काम गर्ने क्षमताका लागि समय निकालेर योग अभ्यासको परम्परा बसाल्न सुझाव दिए।

कार्यक्रममा शिक्षामन्त्री एवं अन्तरराष्ट्रिय योग दिवस मूल समारोह समितिका संयोजक गिरिराजमणि पोखरेलले विद्यालय तहको पाठ्यक्रममा योगलाई समेटेर जाने गृहकार्य भइरहेको जानकारी दिए। सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियान पूरा गर्न पनि योग र ध्यानलाई प्रवद्र्धन गर्न लागिएको मन्त्री पोखरेलको भनाइ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्