काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टी सांसद रामबाबु यादवले सरकारले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै उनले दुई तिहाईको बलमा सरकारले विपक्षीमाथि बल मिच्याई गरेको आरोप लगाए ।
संसदीय मर्यादा उलङ्घनका सम्बन्धमा केही दिनदेखि संसदमा सत्तापक्ष र विपक्षीका सांसदहरुबीच आरोप प्रत्यारोप चल्ने गरेको भन्दै सांसद यादवले ‘सरकारले संसदीय मर्यादालाई मान्नु पर्छ कि पर्दैन ?’ भनी प्रश्न गरे ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि सभामुखले सरकारलाई निर्देशन गरिसक्दा पनि अझै कार्यान्वयन नभएको भन्दै उनले आक्रोश व्यक्त गरे ।
सरकारले सभामुखको निर्देशन नमानेको तथा संसदीय समितिले दिएको निर्देशनलाई विभागीय मन्त्रीले सार्वजनिक रुपमा चुनौति दिँदै हिँडेको उल्लेख गर्दे सांसद यादवले संसदीय मुल्य र मान्यता कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराए ।
यस्तै विशेष समयमा बोल्दै सांसद प्रभु शाहले रौतहट जिल्लामा भएका केही आपराधिक घटनाबारे जानकारी गराउँदै शान्ति सुरक्षाको सुव्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । आपराधिक घटनामा संलग्न अपराधी अहिलेसम्म पत्ता लाग्न नसकेको भन्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षण गराए ।
त्यसैगरी सांसद मिना पाण्डेले सर्लाहीमा प्रहरीले गोली हानेर कुमार पौडेलको हत्या गरेको समाचार बाहिर आएको भन्दै नियन्त्रणमा लिएर हत्या गर्ने कार्यले मानवअधिकारको गम्भिर उंल्लघन भएको भन्दै घटनाबारे छानविन गर्न आयोग गठन गर्न माग गरिन् ।



लाेकपाटी न्यूज

