काठमाडौं, ६ असार। पाँचौं अन्तर्राष्ट्रिय योग दिवस सशस्त्र प्रहरी बल मूख्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ। शुक्रबार सशस्त्र मूख्यालय हल्चोकमा विशेष कार्यक्रमका साथ योग दिवस मनाइएको हो।
सशस्त्र प्रहरी बल र आर्ट अफ लिभिङको संयुक्त आयोजना सम्पन्न कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मानव जीवन र स्वास्थ्यका लागि योगा अति आवश्यक भएको बताए। खनालले भने, ‘योगा मानव जीवन र स्वास्थ्यका लागि अति आवश्यक छ। फौजी जीवन आफैंमा तनाव र शारीरिक श्रमको पनि जीवन हो। यहाँ अझै पनि ध्यान र चिन्तनको जरुरी हुन्छ। आत्मा शान्ति, चित्त प्रशन्नता, शारीरिक र मानसिक स्फूर्तिका लागि योगा महत्वपूर्ण छ।’
कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका सञ्चालक कृष्ण केसीले योगा सबै धर्म, सम्प्रदाय, वैचारिक दृष्टिकोण र पक्षधरताका लागि उति नै महत्वपूर्ण भएको बताए। केसीले भने, ‘योगा सबै धर्म, सबै समुदाय, सबै विचार र पक्षका मानिसहरुका लागि महत्वपूर्ण छ। यसले कुनै धर्म, समुदाय, जात, दर्शन वा दृष्टिकोण पक्ष लिँदैन। मानव जातिलाई शारीरिक र मानसिक रुपमा स्फूर्ति राख्न, सकारात्मक सोंचको विकास गर्न, त्यही अनुरुपको आचरण र कर्मका लागि योगा महत्वपूर्ण छ।’

सो असवरमा कार्यक्रम संयोजक रितिका लोहियाले मन र शरीर शान्त राख्न योगा जरुरी भएको बताइन्। कार्यक्रममा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल र नारायणबाबू थापाले योगाको महत्व र कार्यक्रमको औचित्यबारे मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा प्रशिक्षक रितिका लोहियाले योगा र ध्यानका विभिन्न प्रयोगात्मक अभ्यास गराएकी थिइन्।
के हो योगा ?
योगा शब्द संस्कृत भाषाको युज धातुबाट आएको हो, यसको अर्थ हो जोड्नु। योगाले शरीरलाई मनसँग जोड्दछ। मानसिक स्वास्थ्य र शारीरिक स्फूर्तिका लागि योगा अति उपयोगी मानिन्छ।
योग अभ्यास विश्वव्यापी रुपमा फैलिएको छ। पछिल्लो दश वर्षको अवधिमा योगाप्रति आम साधारणको आकर्षण बढ्दै गएको छ। त्यसै कारण संयुक्त राष्ट्र संघले २१ जुनलाई योग दिवसका रुपमा मान्दै आएको छ। आज विश्वका १५६ मुलूकहरुमा योग दिवस मनाइन्छ।
सशस्त्र प्रहरी मूख्यालयमा याेगाभ्यास गर्दै प्रहरी अफिसरहरु।
Posted by Lokpati.com on Thursday, June 20, 2019
योगा बालक, जवान, वृद्धा, महिला, पुरुष जो–कसैले पनि गर्नसक्ने एक शारीरिक तथा मानसिक अभ्यास हो। योगा जसले पनि गर्न सक्दछ। तर, यसका विधिहरुबारे विज्ञ प्रशिक्षकबाट जानकारी लिनुपर्ने हुन्छ। योगा मानव जीवनका लागि पूनर्ताजगीको सबैभन्दा सवल र प्रभावकारी माध्यम पनि हो। शरीरलाई मनसँग जोड्न, एकाग्रताबाट कुनै नयाँ ज्ञान वा अनुसन्धानको तहमा पुग्न पनि योगाको निकै ठूलो भूमिका रहन्छ।
योगाका तीन प्रक्रिया वा अंग हुन्छन्, १. आसन, २. श्वास प्रक्रिया र ३. ध्यान। योगाको नियमित अभ्यासबाट मानिसले शारीरिक तथा मानसिक स्फूर्ति प्राप्त गर्दछ। मनोवैज्ञानिक उर्जा प्राप्त गर्दछ, चिन्तनका नयाँ–नयाँ क्षेत्रमा सफलता हात पार्न बल मिल्दछ। त्यसकारण योगा आधुनिक समाज र मानव जातिका लागि अमूल्य पूँजी बन्दै गएको देखिन्छ।
आर्ट अफ लिभिङ के हो ?
आर्ट अफ लिभिङको स्थापना सन् १९८१ मा श्री श्रीरविशंकरले गरेका थिए। उनी एक आध्यात्मिक एवं मानवतावादी चिन्तक थिए। यसले विश्व शान्ति र मानवताका क्षेत्रमा आफूलाई समर्पित गर्दै आएको छ। तनावमुक्त मन, रोगमुक्त शरीर, हिंसामुक्त समाजलाई यसले आफ्नो लक्ष्य मान्दै आएको छ। विश्वका १५६ देशमा यसका शाखा छन्।
यसले हिंसामुक्त समाजबिना विश्व शान्तिको कल्पना गर्न नसकिने मान्यतामा विश्वास राख्छ। कुनै पनि धर्म, सम्प्रदाय, जाति, समूह वा दार्शनिक पक्षधरताभन्दा माथि उठेर मानव जातिको हितका लागि काम गर्दै आएको आर्ट अफ लिभिङका स्वयंसेवक केसीको दाबी छ।



लाेकपाटी न्यूज

