विभिन्न आरोपमा २७ पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

भोजपुर, ५ असार । भोजपुरबाट लाईसेन्स नभएको दुई नाले भरुवा बन्दुकसहित बुधबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

भोजपुर नगरपालिका ३ बाट सोही ठाउँ बस्ने ४६ वर्षीय जित कुमार राई र ३६ वर्षीय लालबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जित कुमारको घरमा तलासी गर्दा बारुद लोड गरेको एक नाले भरुवा बन्दुक १ थान, छर्रा १४ थान, कुरिङ ढुङ्गा १० थान र प्लाष्टिकको वट्टामा करिब २ सय ग्राम बारुद तथा लालबहादुरको घरमा बारुद लोड गरेको एक नाले भरुवा बन्दुक १ थान, छर्रा १६ थान, पटाका ३ प्याकेट र करिब २ सय ग्राम बारुदसहित उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उता, मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ स्थित पूर्व(पश्चिम राजमार्गबाट अवैध लागूऔषध गाँजा ३७ किलो सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पर्सा बहेरीया सुनबर्सा बस्ने ३२ वर्षीय साहा महोमद अन्सारी, भारत बिहार बैसाली फत्तेपुर बस्ने २४ वर्षीय मनिष कुमार यादव र सोही ठाउँ बस्ने ४५ वर्षीय अन्नुदेवी पासवान रहेका छन्। बिआर ०१ सिएन ६९८६ नम्बरको भारतीय नम्बर प्लेटको कार जाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले कारको डिक्कीभित्र फल्सबटम बनाई लुकाईछिपाई ल्याएको उक्त लागूऔषध गाँजासहित चालक महोमद तथा कारमा सवार मनिष र अन्नुदेवीलाई पक्राउ गरेको हो।

यसैबिच,रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका ४ बाट जुम्ला हाडसिजा गाउँपालिका ४ बस्ने २९ वर्षीय चक्र बहादुर शाही र मुगु कार्मारुङ छिरिङ गाउँपालिका १ बस्ने ३६ वर्षीय लंक बुढालाई प्लाष्टिकले बेरेको २ वटा पोकाभित्र रहेको अवैध लागूऔषध अफिम जस्तो देखिने करिब ३ सय ग्राम कालो पदार्थसहित पक्राउ गरेको छ। प्रहरी चौकी गोतामकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा डोल्पाबाट यार्सागुम्बा टिपेर पश्चिम रुकुमतर्फ जाँदै गरेका उनीहरुलाई बुधबार पक्राउ गरेको हो।

यता, ललितपुर बालकुमारी च्यासलस्थित खुल्ला चौरबाट कोटेश्वर बस्ने मकवानपुर घर भएका २४ वर्षीय रविन कुमार तिमिल्सिनालाई बिहीबार बिहान अवैध लागूऔषध चरेश २५ ग्राम, नाईट्रोभेट ४५ एम्पुल र मोबाइल ७ थान सहित महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

उता,कास्कीको पोखरा महानगरपालिका ६ खहरे चोकबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ किलो र चरेश जस्तो देखिने पदार्थ करिब ५ सय ग्रामसहित ५ जनालाई बिहीबार बिहान वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नहरुमा स्विस नागरिक २३ वर्षीय गोर्गी व्यारु, स्पेनिश नागरिक २२ वर्षीय जुबेदा एमोन्ड्रेन, रसियन नागरिकहरु ४० वर्षीय कोपनकोब कोरिकोर र ३० वर्षीय एन्टेम नेजिक्स र पोखरा महानगरपालिका २३ पामे बस्ने २२ वर्षीय किशोर केसी रहेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यस्तै,नवलपरासी पश्चिमबाट सरावल गाउँपालिका ३ हात्तीवनबाट पाल्हीनन्दन गाउँपालिका १ छोटकारी सुनरी बस्ने १८ वर्षीय अजमत अलीलाई भन्सार छली गरी ल्याउँदै गरेका करिब ३ लाख ८१ हजार २ सय रुपैयाँ बराबरको सामानसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ। सोही ठाउँस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले अजमतलाई फुल सर्ट ८ सय ४ थान, दोसल्ला ३ सय थान, युपी ५३ जेट १९८२ र युपी ५६ एफ १५२७ नम्बरको २ वटा मोटरसाइकल सहित पक्राउ गरेको हो। सामान लिएर आउँदै गरेका अर्का एक व्यक्ति फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ।

यता, काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती शिव मन्दिरस्थित मोहन कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा बौद्ध नयाँबस्ती बस्ने रामेछाप घर भएका ३३ वर्षीय गोपाल घिसिङलगायत ६ जनालाई ३ बुक तास र नगद २९ हजार ५ सय १५ रुपैयाँसहित बुधबार प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरको हो।

उता,बाँकेको नेपालगंज उपमहानगरपालिका २ स्थित जाजरकोटी भावना होटलमा जुवातास खेलिरहेको अवस्थामा जाजरकोट कुशे गाउँपालिका ७ बस्ने ३० वर्षीय कृष्ण बहादुर सिंह लगाएत ३ जनालाई करिब ४५ हजार रुपैयाँ र १ बुक ताससहित बिहीबार प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यसैबिच, सप्तरीमा ३१ वर्षीया बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खड्क नगरपालिका ४ बस्ने ४५ बर्षीय मुस्तकिम मियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। घाँस काट्न गएको अवस्थामा सोही ठाउँस्थित आँपको बगैचामा जेठ २० गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडोरवनाबाट खटिएको प्रहरीले मियालाई पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्