काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जिल्ला इञ्चार्जसहित पाँच जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ।
प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा नेकपा रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा जिल्ला इञ्चार्ज यादव दाहाल र दोलखा जिल्ला सेक्रेटरी निशान जिरेलसहित पाँच जना रहेका छन्। त्यस्तै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य मुकुन्द श्रेष्ठ र अखिल (क्रान्तिकारी) कै उदयपुर जिल्ला सदस्य विकास तामाङ पनि गिरफ्तार भएका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिएका छन्।
सरकारद्वारा प्रतिबन्धित नेकपाका कार्यकर्ताले गोप्य रुपमा संगठन विस्तार लगायतका गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजना र राज्यद्रोहको मुद्दा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच रोल्पाबाट प्राप्त जानकारी अनुसार, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रोल्पाको गंगादेव गाउँपालिका इञ्चार्च सन्दिप र माडी गाउँपालिका इञ्चार्ज श्यामसहित ४ जनालाई उनीहरु सुतिरहेको बेला घर्तिगाउँको पेदिखोला ढाडबासबाट प्रहरीले गए राति पक्राउ गरेको छ।



लाेकपाटी न्यूज

