काठमाडौं, ४ असार । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले देशैभरिका मालपोत र नापी कार्यालयहरुलाई नमूना कार्यालय बनाउने अभियानमा लागेको बताएकी छन्। कलङ्कीमा निर्मित नमूना मालपोत कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।
उनले नमूना मालपोत कार्यालयको कामलाई देशव्यापी रुपमा विस्तार गर्ने बताइन्। उनले भनिन्, ‘यस वर्ष हामीले कलङ्की, इलाम, पाँचथर र साँखुमा नमूना कार्यालय बनाइसकेका छौं, यहाँको कामले गति लिएपछि हामी नमूना कार्यालयको कामलाई देशव्यापी रुपमा विस्तार गर्छौं । सेवा प्रवाह धेरै महत्वपूर्ण विषय हो, प्रत्येक नागरिकले त्यतिबेला मात्र परिवर्तनको अनुभूति गर्न सक्छन्, जतिबेला हाम्रा कार्यालय सेवामैत्री हुन्छन्, जनताले सहज, सरल र बिना झन्झट सेवा प्राप्त गर्न सक्दछन् ।’
यसैबीच मन्त्री अर्यालले परिवर्तनको सङ्कल्पका साथ आफ्नो कार्यशैली सच्चाउन सबैमा आग्रह समेत गरिन् । उनले भनिन्, ‘हाम्रा कतिपय व्यवहारले लज्जित तुल्याउँछ, शीर झुकाउँछ । अरुले गरेका गल्तीले हामीलाई रातभरि निदाउन दिँदैन । यसरी परिवर्तनको अनुभूति हुँदैन, हामीकहाँ आउने प्रत्येक सेवाग्राहीले अनुहारमा चमक र खुसी लिएर फर्कन सक्नुपर्छ, हामी सबैले यही सङ्कल्प गर्न जरुरी छ ।’
उनले जग्गा प्रशासनका फइलहरु डिजिटलाइजेशन गरेर जनतको सम्पत्तिको संरक्षण गर्नु आफूहरुको दायित्व भएको भन्दै मालपोत कार्यालयहरुलाई प्रविधिसँग जोड्न खोजको बताइन्। उनले भनिन्, ‘जग्गा प्रशासनका सम्पूर्ण फाइलहरु डिजिटलाइजेशन गर्दैछौं, जनताको सम्पत्ति संरक्षण गर्नु हाम्रो दायित्व हो । एउटा फाइल, मोठ कसैले लग्यो भने के गर्ने भन्ने अब चिन्ता छैन । हामीले स्थानीय तहलाई फाइल वा ढड्डा होइन, प्रविधि वा पेनड्राइभ हस्तान्तरण गर्छौं । त्यसका लागि रातदिन नभनी काम गरिरहेका छौं । २ वर्षभित्र फाइल होइन, प्रविधि स्थानीय तहलाई बुझाउँछौं ।’
‘नमूना कार्यालयमा सेवा लिन सेवाग्राहीले कोठाकोठा चहार्नु पर्दैन, एकद्वार प्रणालीबाट काम हुन्छ । एक ठाउँमा फाइल बुझाएपछि अर्को ठाउँबाट प्रमाणपत्र लिने व्यवस्था हुन्छ’ अर्यालले भनिन्, ‘मालपोत र नापीबाट उठ्ने राजश्व सङ्घीय सरकारलाई आउँदैन, ४० प्रतिशत प्रदेशलाई जान्छ, ६० प्रतिशत स्थानीय तहलाई जान्छ । तर, पनि सङ्घीय सरकारले जग्गा प्रशासनलाई आधुनिक, सेवाग्राहीमैत्री र प्रविधिमैत्री बनाउन निरन्तर लागेको छ ।’
प्रविधिको प्रयोगले राजश्व संकलनमा पनि वृद्धि भएको मन्त्री अर्यालले ठम्याइ छ। उनले भनिन्, ‘अघिल्लो ६ महिनाको अवधिमा ३ अरब ६४ करोड राजश्व संकलन गरिएको थियो । प्रविधिको प्रयोग गरेपछि पछिल्लो ६ महिनामा त्यसमा बृद्धि भएर ४ अरब ४३ करोड पुगेको छ । यसले हाम्रो पारदर्शिता पनि बढाएको छ । जनताले तिरेको सम्पूर्ण राजश्वको पूर्ण सदुपयोगको ग्यारेण्टी भएको छ, यो सुशासनको हाम्रो प्रयासमा महत्वपूर्ण कदम हो ।’
नमूना मालपोतबाट केही तत्वहरु भने आत्तिएको मन्त्री अर्यालले बताइन्। उनले भनिन्, ‘पैसा कमाउने अरु पनि उपाय छन् । अब काम अड्काएर पैसा माग्ने मानसिकता त्यागौं, नमूना मालपोत असफल पारेर आफ्नो अभिष्ट पूरा गर्ने कसैले सोचेको छ भने त्यो सफल हुँदैन । मान्छेलाई धन र महलले सन्तुष्टि दिन सक्दैन, सन्तुष्टि दिने एउटा मात्रै शक्ति स्वाभिमान हो । स्वाभिमान र जनसेवालाई केन्द्रमा राखेर काम गर्नुस् ।’



लाेकपाटी न्यूज

