‘मिडियाले मलाई तपाईं भनेर सम्बोधन गर्नुपर्छ’ : प्रधानमन्त्री ओली

kp-oli
लाेकपाटी न्यूज

काठमाडौं, ४ असार। प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन सकेर हिँड्नै लागेका बेला पत्रकार ऋषि धमला प्रधानमन्त्रीको छेवैमा पुगे।

पत्रकार धमलालाई देख्नासाथ प्रधानमन्त्री ओलीले धमलाकै स्वरको क्यारिकेचर गर्न खोजेझैं लेघ्रो तानेर भने, ‘तपाईको विधेयकले संस्कृतिको मुटुमा छुरी हानेको छ’

पत्रकार धमलाले प्रधानमन्त्रीलाई स्पष्टीकरण दिने प्रयास गर्दै भने, ‘मैले त त्यस्तो बोल्या छैन।’ प्रधानमन्त्रीले आफ्नै नाक औंलाले छुँदै भने, ‘किन बोल्या छैन? टीभी हेर्ने म हो’ यति भनिसकेर प्रधानमन्त्री सम्मलेन कक्षबाट बाहिरिए। यता सम्मेलन कक्षमा हाँसोको फोहोरा फुट्यो। ऋषि धमलाले पनि हाँस्दै मन्त्रीहरुसँग हात मिलाए।

त्यसो त प्रधानमन्त्री ओलीले ऋषि धमलासँग असन्तुष्टि प्रकट गर्नु अगाडि पत्रकार सम्मलेनमा समेत नेपालका मिडियाहरुले आफूलाई तपाई भन्नुपर्नेमा तिमी भन्ने गरेको भन्दै असन्तुष्टि जनाइसकेका थिए।

प्रधानमन्त्री ओलीको गुनासो थियो, ‘हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई पनि जान्दैनन्। तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसक्यो।’