काडमाडौं, १ असार । काठमाडौं प्रहरी परिसर, टेकुले ठगीमा संलग्न भएको आरोपमा काका–भतिजालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसेका जितबहादुर तामाङ र रामबहादुर तामाङ छन्।परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरु नाताले काका–भतिजा हुन्।
उनीहरुले नयाँ बसपार्क, बौद्धलाई आधार इलाका बनाएर सक्कली भनेर नक्कली डलर र सुन साटेर लाखौं रुपैयाँ ठगी गर्ने गरेका थिए। प्रहरीका अनुसार पछिल्लो पटक आइतबार बिहान डलर भनेर कागज मात्र दिइ १५ लाख रुपैयाँ ठगी गर्न लाग्दा उनीहरुलाई पक्राउ गरिएको थियो।
‘साँगाको भित्री जंगलमा रहेको इँटाभट्टामा लगेर लुटपाट गर्न लागेका रहेछन्’, बोगटीले भने, ‘विशेष सूचनाको आधारमा डिल हुँदाहुँदै दुई जनालाई पक्राउ गरेका हौं।’ घटनामा संलग्न जितबहादुरकी श्रीमती भने फरार छिन्। बोगटी भन्छन्, ‘उनीहरुको ठगीमा परिवारका अन्य सदस्य पनि संलग्न छन्। हामी अनुसन्धान गरिरहेका छौं।’
उनीहरुले थली र कपनमा पनि एउटै शैली प्रयोग गरेर ७\७ लाख रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी परेको छ।पक्राउ परेका दुबैमाथि यसअघि काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय, काभ्रको टोलीले पनि मुद्दा चलाइसकेको छ।



लाेकपाटी न्यूज

