काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने बताएका छन्। साताब्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ।’
उनले भने, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हसाउँन हो। कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो। यत्ति भन्न चाहन्छु।’
यस्तै प्रधानमन्त्री स्वदेश फर्कंदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सभामुख लगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गरेका थिए। प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेश फर्किएका हुन्।
उनी स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए। दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्न गएका थिए।
यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए। यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए।



लाेकपाटी न्यूज

