काठमाडौं, ३२ जेठ । सरकारले विकास खर्च काटेर संघीय सांसदका ३ सय ३४ जना सांसदलाई ल्यापटप वितरण गर्दैछ।
सांसदलाई ल्यापटप किन्न विकास खर्चको ३ करोड ३४ लाख रुपैयाँ रकमान्तर गर्न लागिएको छ।अहिले तिनै सांसदका लागि मुलुकको विकास बजेट काटेर महँगो दरमा ल्यापटप बाँड्न लागिएको हो। प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउने भएका हुन्।अर्थले त्यसका लागि रकम स्वीकृत गरेसँगै संघीय संसद सचिवालयले बोलपत्र आह्वान गरेको छ।
यता, विकास खर्च काटेर सांसदहरुलाई ल्यापटप वितरण गर्न लागिए पनि यसको चौतर्फी आलोचना भईरहेको छ। सत्तारुढ दलकै नेताहरुले समेत यसको आलोचना गरिरहेका छन्। यसैबीच समाजवादी पार्टी नेपालका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सांसदलाई ल्यापटप बितरण गर्न लागिएको बारे बिरोध गरेका छन्।उनले सामाजिक सञ्जालमार्फत सरकारको यस कदमको आलोचना गर्दै सांसदलाई ल्यापटप दिने प्रस्ताव सुनेर आफु लज्जित भएको बताएका छन्।
शनिबार उनले ट्वीट गर्दै लेखेका छन् “फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हास्यास्पद प्रस्ताव ल्याइएको सुन्नुपर्दा लज्जित छु। निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध त हुँदै हो, सभ्य समाज र लोकतन्त्रमा कानूनी अपराध पनि हुनुपर्ने हो’ उनले प्रश्न गरेका छन्, ‘के हामी लोकतन्त्रलाई बदनाम गर्ने र हत्या गर्ने दिशामा जाँदैछौं ?” सरकारको यस कदमको उनले आलोचना त गरे तर उनलाई ट्वीटरमा तपाईले चाँहि ल्यापटप लिने की नलिने भन्दै प्रश्न गर्नेहरुको ओहिरो लागेको छ।




लाेकपाटी न्यूज

