कम्युनिष्ट सिद्धान्तकै बाटो हिँडेकाले लक्ष्यमा पुगिन्छ : नेता पाण्डे

Mahendra-Bahadur-Pandey
लाेकपाटी न्यूज

रमेश भुसाल/पश्चिम नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आफूहरु कम्युनिष्ट सिद्धान्तकै बाटो हिँडिरहेको र लक्ष्यमा पनि पुगीने बताएका छन्। उनले कम्युनिष्टको सफलतालाई बिफल बनाउन चाहनेहरुले विरोधका लागि विरोध मात्र गरिरहेको जिकिर गरे।

कम्युनिष्टको सरकार देख्न नचाहने प्रतिक्रियावादीहरुले नकरात्मक कुरामा भ्रम सिर्जना गरेर सरकारलाई बदनाम मात्र गर्न खोजेको उनको भनाई थियो । पश्चिम नवलपरासीको परासीमा आयोजित मदन भण्डारी फाउण्डेसनको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले सो कुरा बताएका हुन्।

उनले नेकपाका घोषणा पत्रमार्फत देखाइएका सपना पूरा गरेरै छाड्ने पनि दाबी गरे। ठीक ढङ्गले अघि बढेमा कम्युनिष्ट समाप्त नहुने भन्दै नेता पाण्डेले पार्टीको मार्गदर्शक सिद्धान्त मदन भण्डारीले पारित गरेको जनताको बहुदलिय जनवाद नै हुने पनि बताए।

मदन भण्डारी फाउण्डेसन प्रदेश नं. ५ का सदस्य थानप्रसाद गैरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा फाउण्डेशनका प्रदेश अध्यक्ष सुर्य ढकाल, प्रदेश उपाध्यक्ष देवी वाग्ले, प्रदेश सदस्यहरु लक्ष्मी क्षेत्री, रामचन्द्र भण्डारी, प्रदेश सल्लाहकार बद्री खनाल, मदन भण्डारी स्पोट्स एकेडेमीका प्रदेश अध्यक्ष धुव्र आचार्य, प्रदेश सभा सदस्य थानकुमार थापा, नेकपाका प्रदेश सदस्य घनश्याम कोईराला, मदन भण्डारी बौद्धिक मञ्चका प्रदेश अध्यक्ष धर्मराज भुसाल, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका प्रदेश अध्यक्ष अजित खनाल, नेकपा जिल्ला सदस्य डोलराज भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

भेलाले थानप्रसाद गैरे अध्यक्ष र देवराज श्रेष्ठ सचिव रहेको मदन भण्डारी फाउण्डेसनको जिल्ला कमिटी, सागर पाण्डे अध्यक्ष र चन्द्रकान्त पाठक सचिव रहेको मदन भण्डारी बौद्धिक मञ्च र यमजित मल्ल अध्यक्ष तथा भरत क्षेत्री सचिव रहेको मदन भण्डारी कला साहित्य प्रतिष्ठानको जिल्ला समिति गठन गरेको मदन भण्डारी फाउण्डेसन प्रदेश नं. ५ ले जनाएको छ ।