प्रधानमन्त्री ओली केबलकारमै अड्किएपछि…

Cable car
लाेकपाटी न्यूज

काठमाडौं, ३२ जेठ। फ्रान्समा रहेका केपी शर्मा ओली केबलकारमा अड्किएका छन्। नेपाल जस्तै भौगोलिक बनावट रहेको फ्रान्सको सामोनी क्षेत्र घुम्न गएका उनी झण्डै एक घण्टा केबलकारमा अड्किएका हुन्।

युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ (४८१० मिटर) हेर्न र त्यहाँको स्की तथा उच्च हिमाली क्षेत्रको पर्वतारोहणको तालिम दिने इन्स्टिच्युटको अवलोकन गर्न जाँदा प्रधानमन्त्री केबलकारमा अड्केका हुन्। फ्रान्सेली स्थानीय पत्रिका ‘ल दोफिन’ले उल्लेख गरे अनुसार २५०० मिटरको उचाइमा पुगेपछि केबलकार अड्केको थियो।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, २०१८ कीमिस नेपाल श्रृङ्खला खतिवडा, मोब्लँ कम्पनीका प्रमुख सन्ञ्चालक अधिकृत माथ्यु देशाभान, ओत साभ्वा क्षेत्रका डेपुटी साभिय रोसेरेन, सामोनी नगर प्रमुख एरिक फुर्नियलगायत त्यस क्षेत्रका ब्यापारी, नगरपालिकाका अन्य अधिकारीहरुपनि सँगै थिए।

प्रधानमन्त्रीको टोली केबलकारमा अड्किएपछि मौसम खराब बनेको थियो। खराब मौसमका कारण केवलकार बन्द गर्नुपर्ने संकेत प्राविधिकहरुले दिएपछि प्रधानमन्त्रीको टोलीले त्यँही छलफल गरेर समय कटाएको थियो। प्रधानमन्त्रीको टोलीसँगै करिब ४० जना केबलकारमा अड्किएका थिए। केबलकारमा अड्किएपछि प्रधनामन्त्रीको जेनेभा फर्किने कार्यक्रम ढिलो भएको थियो।