काठमाडौं, ३० जेठ । ‘राष्ट्र बचाऔं राष्ट्र बनाऔं’ महाअभियान नेपालका अध्यक्ष सिपी पौडेलले अहिलेको राज्यसंयन्त्र नै निकम्मा भएको आरोप लगाएका छन् ।
उनले भने, ‘अहिलेकै संयन्त्रबाट यो देश बन्दैन । देशको अस्तित्व नै रहँदैन । देशलाई प्रगतिको पथमा डोर्याउनको लागि पनि अहिलेको राज्य संयन्त्रलाई पूर्ण रुपमा पूनःसंरचना गर्न जरुरी छ ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अधिवक्ता समेत रहेका अध्यक्ष पौडेलले देशमा न्याय दिन बसेका व्यक्तिहरु नै घुसखोर भएको आरोप लगाए ।
उनले भने, ‘घुसखोर न्यायाधीशहरुबाट जनताले के को न्याय पाउने ? अस्ति भर्खरै काठमाडौं जिल्ला अदालतका न्यायाधिशले घुस डिल भएको खबर प्रमाणसहित बाहिर आएको र प्रमाणसहित अख्तियारको फन्दामा परे ।’ उनले नेपालका न्यायाधीशहरु न्यायाधीश नभएर फैसलाधिश बनेको पनि आरोप लगाए ।
पौडेलले अख्तियार आयुक्त नै घुस लिँदालिँदै रंगेहात पक्राउ परेको घटना सुनाउँदै भने, ‘मुलुकमा भ्रष्टाचार रोक्ने निकायका प्रमूख पदाधिकारीहरु नै घुसखोरीमा संलग्न भएका छन् । यस्तै अख्तियारका प्रमूख आयुक्त दिपमान बस्न्यातकै सम्पत्तिको स्रोतबारे छानविनको प्रक्रिया सुरु भएको छ । र, उहाँ विगतमा नक्कली शैक्षिक प्रमाणपत्रको विवादमा पनि मुछिनुभएको व्यक्ति हो ।’
त्यस्तै, उनले राणा शासनमा जनता बाठा हुन्छन र आफ्नो शासन समाप्त हुन्छ भन्ने डरले जनतालाई शिक्षाबाट बञ्चित गराइएको अवस्था सुनाउँदै भने, ‘अहिलेका शासकहरुले शासन सत्ता आफ्नो हातबाट फुत्किन्छ भनेर यो देशमा रहेका युवा जनशक्तिहरु सबैलाई विदेश खेद्ने काम गरिरहेको छ ।’
मुलुकलाई अहिले दुई खालको खतराबाट जोगाउनुपर्ने पनि उनले आवश्यकता औंल्याए । ‘पहिलो नागरिकताजस्तो संवेदनशील विषयमा सरकारले हचुवाको भरमा विदेशीलाई नागरिकता दिने र नेपाल भित्र्याउने, र यहाँका बास्तविक नेपालीहरुलाई चाहीँ विदेश खेद्ने योजनाबद्ध रुपमा काम गर्यो ।
यसले गर्दा यो देश छिट्टै फिजीकरण र सिक्किमीकरण हुने अवस्था आइसकेको छ । त्यस्तै, दोस्रो यो देशमा रहेका युवाहरुलाई श्रम बेच्नको लागि विदेश पठाउने र नागरिकहरुसँग चर्को कर असुल गरेर शासकले आफ्नो सेवा सुविधा र मोजमस्तीमा त्यसलाई उपयोग गर्ने गरिरहेका छन् ।’
उनले मुलुकमा पछिल्लो समय भ्रष्टाचारले पनि जरा गाडेको सुनाए । उनका अनुसार भ्रष्टाचारले जरा गाडेकोले गर्दा देशको अस्तित्व नै समाप्त हुने र देश असफल राष्ट्रमा परिणत हुने अवस्था आईसकेको छ । उनले भने, ‘त्यसैले यो देशका युवालगायत सम्पूर्ण सचेत नागरिकहरुलाई राष्ट्र बचाउने र बनाउने यो महाअभियानमा सरिक हुनको लागि म आग्रह गर्दछु ।’
कार्यक्रममा स्वघोषित बाबा तथा माताहरुबाट पीडित महिला सीता थापाले आफूलाई व्यक्तिगत समस्या समाधान गरिदिने नाममा ठगिएको गुनासो पोखेकी छिन् । थापाकाअनुसार स्वघोषित बाबा तथा माताहरुले उपचारको नाममा ठगेर उनलाई सडकमा पुर्याइएको छ ।
उनले भनिन्, ‘म त यस्ता स्वघोषित बाबा तथा माताहरुबाट ठगिएँ, अब यिनीहरुलाई राज्यले कारबाही गर्नुपर्छ । मजस्तै अरु पनि सोझासिधा नेपाली दिदिबहिनी तथा दाजुभाईहरु नठगिउन भनेर म आज मिडियामा आएको छु ।’ पीडित थापा महाअभियानकै सहयोगमा आज मिडियामा आएकी हुन् ।



लाेकपाटी न्यूज
