लोकसेवा आयोगको विज्ञापन तत्काल रद्द हुनुपर्छ : विश्वप्रकाश शर्मा

Biswoprakash shrma
लाेकपाटी न्यूज

काठमाडौं, ३० जेठ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने बताएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित खुलाइएको लोकसेवा विज्ञापन तत्काल रद्द गर्नुपर्ने पार्टीको अडान रहेको बताएका हुन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो सम्बन्धमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा आफ्नो पार्टीको समर्थन रहेको पनि स्पष्ट पारे। प्रवक्ता शर्माले समितिले भने बमोजिम स्थानीय तहको कर्मचारी करारमा राख्ने पक्षमा भने आफ्नो पार्टी नरहेको पनि बताए। संविधानलाई केन्द्रमा राखेर लोक सेवा आयोगले पुनः सो विज्ञापन खुलाउने र स्थानीय तहमा आवश्यक कर्मचारी नियुक्तिको प्रक्रियालाई अघि बढाउने पक्षमा आफ्नो पार्टी रहेको प्रवक्ता शर्माको भनाई छ।

प्रवक्ता शर्माले विज्ञापनमा आवेदन दिएकाहरुको भावनाको सम्मान गर्न पनि लोक सेवा आयोगले सो विज्ञापन पुन खुलाउन ढिलाई गर्न नहुने पनि बताए। काँग्र्रेसले पहिलो चरणको जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष पनि निकालेको छ। पार्टीका प्रवक्ता शर्माले जेठ २५ गते सम्पन्न पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष निकालिएको पनि जानकारी दिए।