काठमाडौं, २९ जेठ । विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन बहुमतसहित पारित गरेको छ।
प्रमुख विपक्षी कांग्रेसका सांसद बहादुर सिंह लामा भने असहमति राखेका छन्। उपसमितिको बुधबार बसेको बैठक प्रतिवेदन तयार पारेको संयोजक बिनाकुमारी श्रेष्ठले बताइन्। ‘प्रतिवेदन तयार भएको जानकारी सभापतिलाई गराएको छौं। उनले बैठक राखेपछि पूर्ण समितिमा पेश गर्छौं’ उनले भनिन्।
सामाजिक सञ्जालमा अंकुस लगाउने केही प्रावधान राखेको भन्दै सांसद लामाले भने फरकमत राखेका छन्। ‘मैले आफ्नो फरक मत राखेको छु। बुलिङ, समाजिक सञ्जालमा शेयर गरेकै आधारमा कडा दण्डसजाय गर्ने दफाहरुमा मैले आफ्नो असहमति राखेको छु’ सांसद लामाले भने।
प्रतिवेदनमा साइबर बुलिङ (विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साहीत गर्ने, अपमान गर्ने वा हप्काउने) दण्डनीय बनाएको छ। सामाजिक सञ्जालहरु नेपालमा दर्ता हुनुपर्ने, घृणा, द्वेष वा अपहेनामा उत्पन्न हुने काम कारबाही गर्न नहुने उल्लेख छ।
उपसमितिको प्रतिवेदनले कसुरदारलाई १५ लाखसम्म जरिवाना तथा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने विधेयकको व्यवस्थालाई कायम राखेको छ।



लाेकपाटी न्यूज

