खोटाङ, २९ जेठ । चट्याङबाट सुरक्षित रहनका लागि केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरिएको छ।
गाउँपालिकाको रु दुई लाख र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको रु दुई लाख ५३ हजार ५०० को सहयोगमा उपकरण खरीद गरेर जडान गरिएको हो। गाउँपालिकामा जडान गरिएको चट्याङप्रतिरोधी उपकरणले ८०० मिटर टाढा खसेको चट्याङलाई आफूतर्फ तानेर जमीनभित्र निस्क्रिय(डिसपोज) गर्ने गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए।
“चट्याङले यस क्षेत्रमा वर्षेनी मानिस तथा पशुचौपायामा ठूलो क्षति गर्दै आएको छ”, उनले भने, “आगामी दिनमा चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न चट्याङप्रतिरोधी उपकरण जडान गरिएको हो।” जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिका चट्याङको अति प्रभावित क्षेत्र भएकाले अन्य स्थानमा पनि क्रमशः थप उपकरण जडान गर्ने योजना रहेको जनाइएको छ।
यसअघि चट्याङ लागेर बाक्सिलाबजारमा सञ्चालन भएको नवौँ संस्करणको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिता हेरिरहेका एक दर्शकको घटनास्थलमै मृत्यु भएको थियो। भौगालिक रूपमा दुर्गम क्षेत्र मानिने पूर्वीपहाडी जिल्ला खोटाङ चट्याङको अतिप्रभावित जिल्लामा पर्दछ।



लाेकपाटी न्यूज

