प्रशोधित पानीबाट महामारी नियन्त्रण गर्छाै‌ं : बीना मगर

bina
लाेकपाटी न्यूज

पोखरा, २८ जेठ । खानेपानी मन्त्री बिना मगरले देशभरी नै प्रशाेधित पानीकाे पहुँच पुर्‍याएर महामारी नियन्त्रण गर्ने कार्यमा लागि परेकाे बताएकी छन्। पोखरा महानगरपालिका वडा नम्बर १९ स्थित मर्दी खोला खानेपानी प्रशोधन शुद्धीकरण आयोजनाको मंगलबार शिलान्यास गर्दै मन्त्री मगरले यस्ताे बताएकी हुन्।

मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम सुरु भएको हो । त्यही आयोजनाको शिलान्यास गर्दै खानेपानी मन्त्री मगरले देशैभरि प्रशोधित खानेपानी पुर्‍याउन सरकार योजनाका साथ अघि बढेको बताइन्। प्रशोधित स्वच्छ खानेपानीद्वारा नै रोगको महामारी नियन्त्रण गर्न सकिने उनले बताइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘८८ प्रतिशत जनताले आधारभूत स्तरको खानेपानी पाएका छन् । २० प्रतिशतले मात्र प्रशोधित स्वच्छ पानी पिउन पाएका छन् । सरकारले प्रशोधित खानेपानी पुर्याउन यसपालि बजेटमा प्राथमिकता दिइएको छ ।’

उनले शुद्ध र प्रशोधित पानीको सुनिश्चित गर्नका लागि चुनौती रहेपनि सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य पुरा गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको बताइन्।

उनले भनिन्, ‘अहिले पनि धेरै जनताले शुद्ध र प्रशोधित खानेपानी खान पाएका छैनन् । यसमा कसैको ध्यान गएको छैन । रोग लागेपछि हामी औषधी लिएर पुग्छौं । बजेट छुट्याउने गर्छौं । तर, पानी प्रशोधित गर्ने योजनामा ध्यान दिँदैनाैं ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्