एक साताभित्र नेपालमा मनसुनी वर्षा शुरु हुने

raining pic
लाेकपाटी न्यूज

काठमाडौं, २७ जेठ। एक सातभित्र नेपालमा मनसुन वर्षा शुरु हुने भएको छ। सामान्यतया नेपालमा १० जुन अर्थात् आजैदेखि मनसुन भित्रिनुपर्ने भएपनि यस वर्ष मनसुन करिब एक हप्ता ढिलो गरी मात्रै नेपाल भित्रिदै छ।

गत वर्ष जुन ८ मै नेपालमा मनसुन भित्रिएको थियो। नेपालमा मनसुन भित्रिनका लागि आवश्यक सम्पूर्ण प्रणाली विकास नभइसकेकाले मनसुनी वर्षा सुरु नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। महाशाखाका मौसमविद् मीनकुमार अर्यालले मनसुन नेपालमा प्रवेश गर्न अझै चारदेखि सातदिनसम्म लाग्ने बताए।

‘नेपाल प्रवेश गर्ने मनसुन भारतको केरला आइपुगेको छ,’ मौसमविद् अर्यालले भने, ‘अब विस्तारै त्यो नेपालतर्फ अघि वढ्दैछ, वढीमा अबको एक सातासम्ममा नेपालमा मनसुनी वर्षा सुरु भइसक्छ।’मनसुन नेपाल भित्रिन जलवाष्पयुक्त दक्षिण पूर्वी हावा बहनुपर्छ। पूर्वी क्षेत्रमा त्यो प्रक्रिया सुरु भइसकेको अर्यालले बताए। ‘सुरुमा झापा र मोरङ हुँदै मनसुन नेपालको मध्यक्षेत्रमा सक्रिय हुन्छ, त्यसपछि क्रमशः नेपालभरी नै त्यो सक्रिय हुन्छ र पानी पर्छ,’ अर्यालले भने।

मनसुनअघि सक्रिय बनेको प्रिमनसुन अझै नेपालमा सक्रिय छ। हाल काठमाडौँ उपत्यकासहित देशका कतिपय भूभागमा हल्कादेखि मध्यमस्तरको वर्षा भइसकेको छ। विराटनगरमा पनि हिजो र आज राम्रो वर्षा भएको छ। त्यो प्रि मनसुनकै प्रभावले भएको अर्यालको भनाइ छ।

‘प्रि मनसुन र हिउँदे बर्षा पश्चिमी वायुको प्रभावले हुन्छ’ अर्यालले भने, ‘मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा सुरु हुन्छ, प्रि मनसुनमा जस्तो मनसुन सुरु भएपछि हावाहुरी र चट्याङ पर्ने क्रम कम हुन्छ।

नेपालमा औसतभन्दा १७ दिन ढिलो र ११ दिन चाँडो मनसुन भित्रिएको इतिहास छ। सन् १९८२ मा १७ दिन ढिलो जुन २७ मा मात्रै मनसुन भित्रिएको थियो। त्यस्तै सन् १९९६ मा भने ११ दिन अघि नै ३१ मे मै मनसुनी वर्षा नेपालमा सुरु भएको थियो। सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्म मनसुन नेपालमा सक्रिय रहन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्