नयाँ दिल्ली, २५ जेठ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालको पहिलो औपचारिक विदेश भ्रमणका लागि माल्दिभ्स प्रस्थान गर्दैछन्। उनले दोस्रो कार्यकालको पहिलो औपचारिक विदेश भ्रमण माल्दिभ्सबाट शुरु गर्न लागेका हुन्।
मोदी शनिबार साँझ माल्दिभ्स प्रस्थान गर्ने छन्। भारतको सामरिक महत्वको हिन्द महासागर क्षेत्रमा पर्ने माल्दिभ्सको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। मोदीको यो भ्रमणले माल्दिभ्समा चीनको बढ्दो प्रभावलाई ध्यानमा राख्दै त्यहाँ आफ्नो प्रभुत्व बढाउने र भारत तथा माल्दिभ्सका सुरक्षा निकायहरुबीच सहकार्यको मार्गको खोल्ने विश्वास दुईपक्षिय सम्बन्धका विज्ञहरुले गरेका छन्।
उनी आइतबार नै माल्दिभ्सबाट भारत फर्कनुअघि केही घण्टाका लागि श्रीलंकाको राजधानी कोलम्बो जाने छन्। दुई महिना अघि इस्टरका अवसरमा श्रीलंकका विभिन्न चर्च र होटलहरुमा भएको विष्फोटमा २५० जनाको ज्यान गएको थियो। जसमा ११ जना भारतीय नागरिकसमेत रहेका थिए। उक्त घटनापछि श्रीलंकाको यात्रामा जाने मोदी पहिलो विदेशी नेता हुनेछन्। भारतीय सञ्चारमाध्यमहरुले यसलाई आतंकवादविरुद्ध भारतको समर्थनका रुपमा चित्रण गरेका छन्।
अर्कोतिर माल्दिभ्स जस्तै चीनसँग सामरिक र आर्थिक साझेदारीमा अगाडी बढेको श्रीलंकामा भारतको फेरी आफ्नो प्राथमिक हैसियत स्थापना गर्ने चाहनाका साथ मोदीले यो यात्रा गरेको बताइएको छ।



लाेकपाटी न्यूज

