शुद्ध खानेपानी नपाउँदा स्थानीय निराश

Water
लाेकपाटी न्यूज

रमेश भुसाल/नवलपरासी, २५ जेठ। पश्चिम नवलपरासीका बासिन्दाहरु शुद्ध खानेपानीको व्यवस्था हुन नसक्दा निरास भएका छन्। नेपालकै सर्वाधिक आर्सेनिक रहेको रामग्राम नगरपालिका वडा नम्बर १२ र १३ का स्थानीयहरु आर्सेनिक पत्ता लागेको लामो समय बितिसक्दा पनि आर्सेनिकरहित शुद्ध खानेपानीको व्यवस्था हुन नसक्दा निराश भएका हुन् ।

नगरपालिकाले वेवास्ता गर्दा आफूहरु अझै पनि आर्सेनिकयुक्त पानी पिउन बाध्य भएको गुनासो स्थानियले गरेका छन्। जनप्रतिनिधि आएपछि शुद्ध पिउने पानी प्रयोग गर्न पाउने आशामा रहेका त्यहाँका बासीन्दा अहिले पनि आर्सेनियुक्त हेण्डपाइपको पानी खान बाध्य छन। आर्सेनिकयुक्ति पानीले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याएको स्थानिय बासी भिम नारायण शर्माको भनाई छ।

आर्सेनिक व्यवस्थापनमा पहिले जिल्ला विकासमार्फत पश्चिम ग्रामिण खानेपानी पोखराले काम गरेको सफल हुन नसकेको र जनप्रतिनिधि आएको दुई वर्ष भइसक्दा पनि खानेपानीमा प्राथमिकता दिन नसक्नु जनप्रतिनिधिको कमजोरी भएको भन्दै खानेपानीको लागि बजेट छुट्याउन नसक्नु दुभाग्य नै भएको स्थानिय अवधराज यादवको भनाई छ।

नगरपालिकाले आर्सेनिक प्रभावित क्षेत्रका बासीन्दालाई शुद्ध पानीको व्यवस्थापनमा आश्वासन दिएतापनि खानेपानी व्यवस्थापनमा प्राथमिकता नदिएको र वजेट नछुट्याएको हुनाले अहिले आर्सेनिक पानीका कारण धेरै समस्या देखिएको अर्का स्थानीयवासी कृष्णप्रसाद चौधरीको भनाई छ ।

आर्सेनिकयुक्त पानीले नागरीक पीडित भएकोे र समस्यालाई समाधान गर्न अब पानीलाई शुद्धिकरण कसरी गर्ने भन्ने व्यवस्था मिलाएको र बजेट विनियोजन गरेर तत्काल राहत दिने कोसिस गरिरहेको रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुंवरको भनाई छ ।

नेपालमै सवैभन्दा बढि आर्सेनिक भेटिएपछि रामग्राम नगरपालिकाको दुई वटै वडासँगै वडा नं. ११ मासमेत गरी फिनल्याण्ड सरकारले रू. दुई करोडको लागतमा सात वर्ष अघि तीन वटा छुट्टाछुट्टै खानेपानी आयोजना निर्माण गरेको थियो । आयोजनाले आर्सेनिकरहित खानेपानीका लागी बनाइएका तीन वटै ओभरहेड ट्याङ्की प्रयोग विहिन अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्