दुबई, २५ जेठ। दुबईमा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको ज्यान गएको छ। ओमानमा दर्ता भएको सो बसमा ३१ यात्रु सवार थिए, जसमध्ये १७ जनाको मृत्यु भयो भने केहि घाइते भएका छन्।
प्रहरीका अनुसार शेख मोहम्मद बिन जाएन रोडमा राखिएको सङ्केतचिह्नमा बस ठोकिएको थियो। उक्त दुर्घटनामा मृत्यु हुने व्यक्ति विभिन्न देशका नागरिक भएको बताइएको छ। भारतीय अधिकारीहरूका अनुसार दुर्घटनामा आठ भारतीय नागरिकको मृत्यु भएको छ।
पचास वर्ष आसपासका बसचालक घाइते भएका छन् र उनको उपचार हुँदैछ। दुर्घटनाबारे अनुसन्धान सुरु भएको छ। दुबई प्रहरीले सामाजिक सञ्जाल ट्विटरमा दुर्घटनामा परेका मृत्यु भएका व्यक्तिका परिवारलाई समवेदना व्यक्त गरेको छ। दुबई प्रहरीका प्रमुख अब्दुल्लाह खलिफा अल मार्रीले सवारीसाधन चलाउँदा सानो गल्ती वा लापरबाही हुँदा नराम्रो परिणाम आउने बताएका छन्।
दुबईस्थित भारतीय दूतावासले मृत्यु भएका भारतीय नागरिकको नाम सार्वजनिक गरेको छ। उसले मृतकका परिवारसँग आफ्नो सम्पर्क रहेको जनाएको छ।



लाेकपाटी न्यूज

