काठमाडौं, २४ जेठ। संसदीय समितिले बोलाएको बैठकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित अनुपस्थित भएका छन्। लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी माग गरेको विषयमा जानकारी लिन बोलाएको बैठमा मन्त्री पण्डित अनुपस्थित भएका हुन्।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बिहानको बैठकमा मन्त्री पण्डितलाई बोलाए पनि उनी आएनन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सिफारिसमा लोकसेवा आयोगले देशभरका स्थानीय निकायमा खुला कर्मचारी भर्नाको विज्ञापन गरेपछि समावेशी नभएकोलगायत प्रश्न उठेको छ। यसमा प्रदेश २ मा थप असन्तुष्टि छ।
प्रदेश २ ले लोकसेवाले लिएको भर्ना अमान्य हुने बताइसकेको छ। यहीबीच मन्त्रालयको धारणा बुझ्न समितिले मन्त्रीलाई बोलाएर छलफलको प्रयास गरिरहेको छ। तर, शुक्रबार बिहान ८ बजे बोलाइएको बैठकमा मन्त्री पण्डित आफू नगएर सचिव यादव कोइरालालाई पठाएका छन्।
यसअघि पनि यसै विषयमा जानकारी लिन समितिले बोलाउँदा मन्त्री पण्डित अनुपस्थित भएका थिए। उनले कार्यव्यवस्तताका कारण उपस्थित हुन नसकेको भन्दै शुक्रबार बैठक राख्न भनेका थिए। मन्त्रीकै माग अनुसार राखिएको बैठकमा पुनः पण्डित अनुपस्थित भएपछि सांसद्हरुले आपत्ति जनाएका छन्। संसदीय समितिलाई मन्त्रीले छल्न खोजेको भन्दै सांसदहरुले समिति अनिर्णयको बन्दी बन्न नहुने धारणा राखे। कांग्रेस सांसद् दिलेन्द्रप्रसाद बडुले मन्त्रीको अनुपस्थित संसदिय मर्यादाविपरीत भएको बताए ।
मन्त्रीका कारण समितिले निर्णय रोक्न नहुने राजपा अध्यक्ष मण्डलका नेतासमेत रहेका सांसद राजेन्द्र महतोले बताए। ‘या त समितिले मन्त्रीको अनुपस्थितबिना कुनै बैठक बस्दैन भन्ने निर्णय गर्नुपर्छ। होइन भने विज्ञापन रोक्न निर्देशन गर्नुपर्छ’, महतोले समिति बैठकमा भने, ‘आज पनि मन्त्री छैन। अस्ति पनि यही भनेर बैठक स्थगित गरेको होइन र? आयोगले संविधानविपरीत कर्मचारी मागेको दाबी गर्दै महतोले खारेज गर्न माग गरे ।



लाेकपाटी न्यूज

