काठमाडौं, २२ जेठ। ४६औं विश्व वातावरण दिवसको अवसरमा खानेपानी मन्त्री बीना मगरले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित गणेश मन्दिरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास गरेकी छिन्। हनुमन्ते नदी सफाई अभियानले गणेश मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण एवं पार्क शिलान्यासको खानेपानी मन्त्री मगरबाट शुभारम्भ गरिएको हो।
‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नगरपालिकाहरु, विभिन्न सामाजिक संघ संस्था र सुरक्षाकर्मी लगायत सरसफाइ अभियन्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले वातावरण संरक्षण र फोहोर न्युनीकरणमा घर टोल, छिमेक र सिंगो समाजको महत्वपूर्ण भूमिका हुने भएकाले सबै जागरुक हुनुपर्ने बताइन्। उनले फोहोरको व्यवस्थापन घरबाट नै सुरु गर्नुपर्नेमा जोड दिइन्। मन्त्री मगरले भनिन्, हामीले हप्तौं हप्तादेखि सरसफाइ अभियान चलाईरहेका छौं। सरसफाइ अभियान चलाइ रहनुपर्ने स्थिति आउन नदिन सकेसम्म घरबाटै यसको अन्त्य गर्नुपर्दछ। सरसफाइ अभियान सधैं गरिरहन नपरोस्।’
प्रतिनिधि सभा सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले वातावरण सफा गरे झैं सबैले मन सफा गर्नुपर्ने धारणा राखिन्। हाम्रो भावना र सोचाई प्रायः नकारात्मक भएकाले यसको सफाइमा जोड दिनुपर्ने उनको भनाइ थियो। उनले भनिन्, ‘वातावरण सफा गरेर मात्रै हुँदैन। जबसम्म मन सफा हुँदैन तब सबै कुरा नकारात्मक नै रहन्छ। हाम्रो सोचाई सधैं यस्तै रह्यो भने समृद्ध नेपाल बनाउन गाह्रो हुन्छ।’
कार्यक्रममा हनुमन्ते खोला लगायत भक्तपुर क्षेत्रको सरसफाइ अभियानमा निरन्तर योगदान पुर्याएको भनी प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो। कार्यक्रममा पतञ्जली योग समिति नेपालका प्रतिनिधि दुर्गा पन्तले योगा गरेर आफ्नो प्रस्तुति देखाए।
विश्व वातावरण दिवसको उपलक्ष्यमा सूर्यविनायक चोकदेखि गणेशमन्दिरसम्म सरसफाइ र्यालीसमेत निकालिएको थियो। र्यालीमा खानेपानी मन्त्री मगर, प्रतिनिधि सभा सदस्य एवं पूर्व उद्योग मन्त्री बस्नेत, प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ र सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा लगायतका व्यक्तिहरुको सहभागीता थियो।



लाेकपाटी न्यूज

