काठमाडौं, २२ जेठ। सार्वजनिक अभिव्यक्तिका कारण आलोचित बनेका ईटहरीका मेयर द्वारिकलाल चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का नेताहरूले आत्मआलोचना गर्न सुझाव दिएका छन्। पत्रकार तथा अन्य कतिपय व्यक्तिबारे सार्वजनिक धारणाको विषयमा टिकाटिप्पणी हुन थालेपछि नेताहरूले चौधरीलाई सच्चिन आग्रह गरेका हुन।
प्रदेश नम्बर–५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत जनताको बहुदलीय जनवादबाट दीक्षित कार्यकर्ता लोकतान्त्रिक मुल्य मान्यता र विधिको शासनप्रति प्रतिबद्ध रहनुपर्नेमा जोड दिएका छन्। ‘द्वारिकाजीको आक्रोश पीतपत्रकारिता र भ्रष्टाचार विरुद्ध भए पनि अभिव्यक्ति भने अस्वाभाविक र गलत छन्’ मुख्मन्त्री पोखरेलले लेखेका छन्, ‘तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुबै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मआलोचना गर्नु उचित हुनेछ।’
नेकपाकै अर्का नेता योगेश भट्टराईले पनि चौधरीका कतिपय अभिव्यक्तिहरू उनको राजनीतिक उचाईलाई सुहाउने खालको नभएको टिप्पणी गरेका छन्। भट्टराईले लेखेका छन्, ‘तसर्थ आफ्ना भनाईप्रति सार्वजनिक रुपमा आत्मआलोचना गरी पदीय गरिमा र पार्टीको प्रष्तिष्ठाप्रति सचेत रहन मेयर चौधरीलाई बिनम्र अनुरोध गर्दछु।’



लाेकपाटी न्यूज

