काठमाडौं, २२ जेठ। सरकारी जग्गा हडपेको विषयमा छानविन गर्न गठित सरकारी टोलीले सार्वजनिक उजुरी दिन आव्हान गरेको छ।
टोलीले सरकारी कुनै पनि जग्गा व्यक्ति वा संघ सस्थाले हडपेको भए उजुरी दिन सार्वजनिक आव्हान गरेको हो।सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण सम्बन्धमा उजुरी दिन सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले मंगलबार प्रेस विज्ञप्ती सार्वजनिक गरी आह्वान गरेको छ। कसैले जग्गा अतिक्रमण र हिनामिना गरेको थाहा पाएमा त्यस्तो सूचना तथा उजुरी अयोगको इमेल,फ्याक्स वा हुलाक मार्फत वा कार्यालयमा आफैँ आई दिन सकिने आयोगका अध्यक्ष मोहनरमण भट्टराईले जानकारी दिए।
‘सरकारी, सार्वजनिक, गुठी जग्गा कुनै व्यक्ति वा संस्थाले गैह्र कानूनी तरिकाले दर्ता गरी गराई हिनामिना गरेको सम्बन्धमा र सार्वजनिक हितका लागि समय समयमा सरकारबाट अधिग्रहण तथा जफत गरिएका जग्गा हिनामिना भए गरेका सम्बन्धमा सूचना जानकारी, निवेदन र उजुरी अयोगको इमेल,फ्याक्स वा हुलाकमार्फत वा कार्यालयमा आफैँ आई दिन सकिने’ आयोगद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।सरकारी, सार्वजनिक, गुठी जग्गा कुनै व्यक्ति वा संस्थाले गैह्र कानुनी तरिकाले दर्ता गरी गराई हिनामिना गरेको भेटिएमा आयोगको इमेल ठेगाना [email protected] मा जानकारी दिन सकिन्छ।
आयोगको फोन नम्बर ०१-४२००६७० मा फोन गरेर वा फ्याक्स नम्बर ०१-४२००६७१ मा फ्याक्स गरेर पनि यसखालको सूचना दिन सकिन्छ। यस्तै सिंहदरबारभित्र रहेको केन्द्रीय सर्भिस सेन्टरमा रहेको आयोगको कार्यालयमा आफैँ उपस्थित भएर पनि यसखालको निवेदन वा उजुरी दिन सकिन्छ।
आयोगलाई हुलाकमार्फत (सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबार, काठमाडौं पनि उजुरी पठाउन सकिनेछ।



लाेकपाटी न्यूज

