निकुञ्ज पीडितका माग सम्वाेधन हुनुपर्छ : मन्त्री मगर

Bina Magar
लाेकपाटी न्यूज

काठमाडौ, २० जेठ । खानेपानी मन्त्री बिना मगरले निकुञ्ज पीडितका माग सम्बोधन हुनुपर्ने बताएकी छन्। कञ्चनपुर जिल्लामा रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षका कारण घरबारविहीन भएका बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका गरी करिब १५ सय घरपरिवारलाई जग्गासहित आवासको व्यवस्था गर्न माग गर्दै उनले वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको ध्यानाकर्षण समेत गराएकी छन्।

मन्त्री मगरसहित गएको प्रतिनिधिमण्डलले वन तथा वातावरण मन्त्री बस्नेतसँग भेट गरी घरबारविहीन भएका नागरिकलाई उचित व्यवस्थापन गर्नुपर्ने माग राखी ध्यानाकर्षण गराएको हो । भेटमा खानेपानी मन्त्री मगरसहित बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी र बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा लगायतको टोली सहभागी रहेको थियो ।

वन मन्त्री बस्नेतले घरबारविहीन भएका उक्त क्षेत्रका जनतालाई जग्गासहित आवासको व्यवस्थापन चाँडो भन्दा चाँडो गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। आरक्ष पीडित जनताको समस्या समाधान गर्न सरकार गम्भिर रहेको समेत उनले प्रष्ट्याए।

निकुञ्जले २०५८ सालमा साविकको रौतेली बिचवा गाउँका बासिन्दाहरूलाई साविकको बेलडाँडी गाविस वडा नं. ९ मा ल्याई बसोबास गराएपछि बेलडाँडीका बासिन्दाहरू घरबारविहीन हुन पुगेका थिए । बेलडाँडी र बेलौरीका स्थानीयबासीहरू घरबारविहीन भएपछि बिचल्लीमा परेका थिए ।

                               

उतिबेलाको समस्या अहिले पनि ज्युँ का त्युँ नै रहेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष थापाले बताए । उनले समस्या समाधानका लागि भनेर धेरै आयोग बनाइए पनि घरबारविहीन जनताको समस्या अझै समाधान नभएको बताए।

यसैबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ प्रवेश द्वार खुल्ने भएको छ । कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खुल्न लागेको हो । उक्त प्रवेश द्वारको उद्घाटन वन तथा वातावरण मन्त्री बस्नेत र खानेपानी मन्त्री बिना मगरबाट गराउने तयारी स्थानीय गाउँपालिका र नगरपालिकाले गर्ने भएको छ ।

नयाँ खुल्ने प्रवेशद्वारसँगै पर्यटकहरूलाई जङ्गल सफारी गराउनका लागि सहज हुने बेलौरी नगरपालिकाका मेयर चौधरीले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्