काठमाडौं, १९ जेठ । सेनाका लागि बम बनाउने कारखानमा विस्फोट हुँदा ७९ जना घाइते भएका छन्। रुसको जशिंस्क शहरस्थित उक्त कारखानामा विस्फोट हुँदा ७९ जना घाइते भएका हुन्।
विस्फोटका कारण नजिकका १८० वटा घरमा क्षति पुगेको विवरणमा जनाइएको छ। कारखानामा सेनाका लागि बम बनाउने र भण्डारण गर्ने गरिएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार विस्फोटका कारण जेएससी क्रिस्टल इन्स्टिट्युटमा अवस्थित उक्त कारखाना पूर्ण रूपमा ध्वस्त भएको छ।
विस्फोटका बेला पाँच जना कारखानाभित्रै थिए, तर उनीहरूको सकुशल उद्धार गरिएको एक अधिकारीले बताए।
घाइतेमध्ये अधिकांशलाई विस्फोटबाट फुटेका सिसाले चोट लागेको थियो। विस्फोटका कारण कम्पन हुँदा नजिकका घरका र अरू कारखानाका झ्यालका सिसाहरू फुट्न पुगेका थिए।
कारखाना नजिकका घरका सिसाहरू पनि फुटेको अधिकारीहरूले बताएका छन्। जशिंस्क शहरका अधिकारीहरूले घटनास्थल वरपरका क्षेत्रमा आपत्काल घोषणा गरेका छन्।
रुसको अनुसन्धान समितिले कारखानामा सुरक्षासम्बन्धि मापदण्डको सम्भावित उल्लङ्घन हुन सक्ने भन्दै फौजदारी अनुसन्धान थालिएको जनाएको छ।
स्थानीय स्वास्थ्य मन्त्रालयको एउटा विज्ञप्तिमा भनिएको छ, ‘ताजा विवरण अनुसार क्रिस्टलमा भएको विस्फोटपछि ७९ जनालाई चिकित्सकीय सहयोग मागिएको छ जसमध्ये ३८ जना कारखानाका कामदार र ४१ जना शहरका बासिन्दा छन्। घाइतेमा बालबालिका छैनन्।’
१५ जनालाई अस्पताल भर्ना गरिएको र घटनामा कसैको ज्यान नगएको विज्ञप्तिमा भनिएको छ। त्यसअघि एक स्थानीय स्वास्थ्य अधिकारीले पीडितमध्ये अधिकांशलाई छर्रा लागे मध्यम र सामान्य खालको चोट लागेको बताएका थिए। –एजेन्सी



लाेकपाटी न्यूज

