काठमाडौं, १९ जेठ। असार १ गतेबाट काठमाडौंमा दिनभर मालवाहक सवारी चल्न नपाउने भएका छन्। उपत्यकामा जामको समस्या तीव्र भएपछि आगामी असार १ गतेबाट बिहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारी प्रवेशमा रोक लगाइने भएको हो।
बिहान ८ देखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित काठमाडौं छिर्ने विभिन्न नाकाबाट मालवाहक सवारी सञ्चालनमा रोक लगाउने तयारी भइरहेको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ। सार्वजनिक विदाको दिन भने यो व्यवस्था लागू नहुने विभागले जनाएको छ।
आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेकका सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले सूचित गरेको छ। दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारीलाई भने रोकिने छैन।
त्यसैगरी चक्रपथ बाहिरको चाबहिल–जोरपाटी सडक, गोपीकृष्ण–कपन सडक, नारायणगोपाल चोक–बुढानीलकण्ठ सडक, बालाजु बाइपास–गोलढुंगा सडक, बगडोल–नख्खु सडक, सातदोबाटो–हरिसिद्धी सडक, ग्वार्को–चापागाउँ सडकमा बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी सञ्चालनमा निषेध गरिनेछ।
काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिंगरोड क्षेत्रमा पनि जाम बढेकाले नाकाहरुमै रोक्ने गरी निर्णय भएको विभाग स्रोतले जनाएको छ। काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ।



लाेकपाटी न्यूज

