काठमाडौं। खानेपानी मन्त्रालयको निर्देशन बमोजिम काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को आयेजनामा शुक्रबार उपत्यकाका ताल, तलैया, पोखरी र ढुंगेधाराहरुको अभिलेख र नक्साङ्कन सहितको पुस्तक बिमोचन गरियो। खानेपानी मन्त्री बिना मगरले बिमोचन गरेको उक्त पुस्तकमा काठमाडौंका ताल, तलैया, पोखरी र ढुंगेधाराहरुको विगत, वर्तमान अवस्था र भविष्यको योजनाबारे गहन चर्चा गरिएको छ।
मन्त्री मगरले आफू मन्त्री भएलगत्तै उपत्यकाका ढुंगेधारा र पोखरीहरुको अवस्थाबारे चासो राखेकी थिइन्। उनकै निर्देशन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी प्रमूख डा. सञ्जीव राणाको टोलीले उक्त पुस्तक प्रकाशनमा ल्याएको हो। पुस्तकमा उपत्यकाका पोखरीहरुको अवस्था कस्तो छ ? कति अतिक्रमित छन् वा छैनन् ? कुन–कुन पोखरीमा पानीको मात्रा कति छ ? पानीको स्रोत तथा मुहानहरुको अवस्था कस्तो छ ? पोखरीमा भएको पानीको गुणस्तर कस्तो छ ? पोखरीमा जलचरहरुको अवस्था कस्तो छ ? लगायतका विषयमा गहन चर्चा गरिएको छ।
त्यसैगरि पुस्तकमा उपत्यकाका ढुंगेधारा (हिटी) हरुको अवस्था के छ ? कति ढुंगेधारा (हिटी) नास भए, कति अस्तित्वमा छन् ? कुन धारामा पर्याप्त पानी आउँछ, कुनमा वर्षातको मौसममा मात्र पानी आउँछ, कुन धाराको पानी पिउनयोग्य छ, कुन धाराको छैन ? यसबारे पानी बिस्तृतमा चर्चा गरिएको छ। त्यसैगरि उपत्यकाका ताल, तलैयाहरुको अवस्था, तिनीहरुको संरक्षणका लागि राज्यले चाल्नुपर्ने कदम र चुनौतिबारे पनि पुस्तकमा चर्चा गरिएको छ। पुस्तकले पोखरी र ढुंगेधाराहरुको वर्तमान अवस्थाको मात्र चित्रण गरेको छैन, भविष्यमा सरकारले लिनुपर्ने नीति र गर्नुपर्ने कामका बारेमा पनि गहन सुझाव प्रस्तुत गरिएको छ।
काठमाडौं उपत्यका भित्रका १० वटा नगरपालिका क्षेत्रभित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको स्थलगत रूपमा अध्ययन तथा अनुसन्धान गरि सोको विस्तृत लगत संकलन गरि पुस्तक तयार गरिएको छ। जसमा उपत्यकाभित्र रहेका २ सय ३३ पोखरीहरुमध्ये स्थलगत रूपमा भेटिएका पोखरीको संख्या १ सय ९३ रहेको पुस्तकमा उल्लेख छ। त्यस्तै ४० वटा पोखरीहरु लोप भएका छन्।
यसैगरी उपत्यकाभित्र अध्ययनका क्रममा ५ सय ७३ ढुंगेधाराहरु संकलित गरिएकोमा स्थलगत रूपमा भेटिएका ढुंगेधाराहरुको संख्या ४ सय ७९ वटा, मासिएको ढुंगेधाराको संख्या ५२ वटा र पत्ता नलागेको ढुंगेधाराको संख्या ४२ वटा रहेका छन्। १० वटा नगरपालिका क्षेत्रभित्र रहेका ४ सय ७९ ढुंगेधारामध्ये अध्ययनको क्रममा १ सय ७१ वटा ढुंगेधारामा मात्र पानी बगेको पाइएको अध्ययनले देखाएको छ।
शुक्रबार पुस्तकको बिमोचन गर्दै खानेपानी मन्त्री बिना मगरले उपत्यकाको सौन्दर्यीकरणबारे आफूले विशेष ध्यान दिएको बताइन्। मन्त्री मगरले उपत्यकाका पोखरी र ढुंगेधारा संरक्षणको बहुआयमिक अर्थ रहेकोमा जोड दिँदै मन्त्रालयले त्यसका लागि आवश्यक गृहकार्य गर्ने जानकारीसमेत दिइन्। पुस्तक बिमोचनमा बोल्दै उनले मानव स्वास्थ्य, पर्यावरण संरक्षण, पर्यटकीय विकास, प्राचीन संस्कृति, कला र सभ्यताको संरक्षणका लागि पनि ढुंगेधारा र पोखरीहरुको संरक्षण अत्यावश्यक भएको बताइन्।
बिमोचनमा बोल्दै मन्त्री मगरले भनिन्, ‘मन्त्रालयको निर्देशनमा भ्याली बोर्डले जुन पुस्तक तयार पारेको छ, यो नेपाल सरकार, खानेपानी मन्त्रालय, उपत्यकाका सबै नगरपालिकाहरु, उपत्यकाबासी र उपत्यकाको प्राचीन संस्कृति र सम्पदाबारे जानकारी राख्न चाहने सबैका लागि निकै ठूलो सम्पत्ति हो। यो ऐतिहासिक दस्तावेज हो। पुस्तकले उपत्यकाका सबै ताल तलैया, पोखरी र ढुंगेधाराहरुको अवस्थाबारे गहिरो अध्ययन गरेको छ, संरक्षणको उपाय र रणनीतिबारे सुझाव दिएको छ, यसका चुनौतिहरुबारे पनि मार्गदर्शन गरेको छ। यसले मेरो र मन्त्रालयको संकल्प र योजनामा ठूलो टेवा पुर्याएको छ।’
‘यसले हाम्रा लागि निकै ठूलो अभिलेखको काम गर्नेछ। बोर्डले जुन मेहेनतका साथ पुस्तक तयार पारेको छ, यो हाम्रा लागि संकलित संग्रह, योजनाको दिशानिर्देश र ठूलो अभिलेख पनि हुनेछ’ मन्त्री मगरले भनिन्, ‘प्राचीन कालमा समाजले नै प्राकृतिक सम्पदाहरुको संरक्षण गर्थ्यो। आधुनिकतासँगै हामीले यसको महत्व भुल्यौं। ढुंगेधारा, पोखरी र ताल तलैयाहरुको भूमिका भुल्यौं। यी सम्पदा प्रकृतिमैत्री थिए, पारिस्थितिक प्रणालीका लागि निकै अनुकूल र उपयोगी थिए। यी सम्पदाले हाम्रो संस्कृति, सभ्यता र जीवनपद्दति बोल्दथे। अहिले हामीले विकासका नाममा, आधुनिकताका नाममा तिनको महत्व भुल्न थालेका छौं। यही गल्ती सच्चाउन मन्त्रालयले आफ्नो पहल थालेको हो।’
‘हिजोका धाराहरुलाई कसरी पुनर्जीवन दिने, कसरी नियमित सञ्चालन गर्ने, बदलिँदो परिस्थिति अनुसार कसरी अनुकूलन गर्ने, सञ्चालन गर्न सकिँदैन भने त्यसको बिकल्प के हुन सक्छ, पोखरीहरुको संरक्षण र सौन्दर्यीकरण कसरी गर्ने ? यो हाम्रो जिम्मेवारी र चुनौति पनि हो’ मन्त्री मगरले भनिन्, ‘यो जिम्मेवारी पूरा गर्नु हाम्रो कार्यभार हो। यसको संरक्षणबाट मानव स्वास्थ्यमा महत्वपूर्ण लाभ लिन सकिन्छ, पर्यटनको प्रवर्धन गर्न सकिन्छ, हिजोको संस्कृति र कलाको संरक्षण गर्न सकिन्छ। त्यसमा प्राचीन कला, सीप र कौशलको प्रयोग होस्, यसले मात्र उपत्यकाको पहिचान र सौन्दर्यमा प्राण भर्न सक्छ।’
मन्त्री मगरले ढुंगेधाराको पानी अञ्जुलीमा थापेर पिउनुको छुट्टै आनन्द भएको पनि बताइन्। उनले भनिन्, ‘काठमाडौंमा खुला ठाउँ नै छैन। सार्वजनिक जमिन अतिक्रमित हुँदै गएको छ। स्वच्छ हावा लिन पनि कौसी वा घरको छतमा जानुपर्ने अवस्था छ, यो हाम्रा लागि बिडम्वना हो। हामीले ढुंगेधारा र पोखरीको संरक्षण गरेर मात्र पुग्दैन, तिनमा जीवन भर्नुपर्दछ, तिनीहरुको सौन्दर्यीकरण गर्नुपर्छ, ताकि उपत्यकाका नागरिकले त्यसबाट सभ्यताको संरक्षण गर्न सकून्, मानव स्वास्थ्यमा प्रशस्त लाभ लिन सकून्, यही उद्देश्यका लागि हामीले यो अभिलेख तयार पारेका छौं।
मन्त्री मगरले नेपाल आउने पर्यटकहरुलाई ढुंगेधाराको पानी पिउन प्रेरित गर्ने पनि बताइन्। उनले भनिन्, ‘यसले हाम्रो पर्यटन प्रवर्धनमा निकै ठूलो सहयोग पुग्छ। तपाईहरु कल्पना गर्नुस् त, एक जना विदेशी पर्यटकले ढुंगेधाराको पानी अञ्जुलीमा थापेर पिउँदा कस्तो रोमाञ्चक अनुभूति गर्ला ? हामीले गर्न खोजेको पनि यही हो। हाम्रा सम्पदाहरु जनजनको मन तान्न सक्ने हुनुपर्छ। हामीले त्यस्तो बनाउनैपर्छ। हामी सबैले संकल्प गर्यौं भने असम्भव पनि छैन। त्यसका लागि उपत्यकाका ढुंगेधारा र पोखरीमा प्राण भर्ने संकलप गरौं।’
भ्याली बोर्डको टीमले उक्त पुस्तक तयार पारेको हो। मन्त्री मगरको दिशानिर्देश र योजनाबमोजिम पुस्तक तयार पारिएको बोर्डका अध्यक्ष तेजराज भट्टले बताए। त्यसैगरि कार्यकारी निर्देशक डा. सञ्जीव राणाले मन्त्री मगरले निर्देशनले आफूहरुमा उत्प्रेरणा जागेको बताए। मन्त्रालयको निर्देशनमा बोर्डले तयार पारेको पुस्तक ८३८ पृष्ठको रहेको छ। पुस्तकमा उपत्यकाको प्राचीन जीवनशैली, सभ्यता, संस्कृति, त्यससँग प्राकृतिक सम्पदाहरुको सम्बन्ध, आधुनिकीकरणले त्यसमा पारेको नकारात्मक प्रभाव, सम्पदाहरुको वर्तमान अवस्था र भविष्यमा चाल्नुपर्ने कदमका बारेमा बिस्तृत चर्चा गरिएको छ।



लाेकपाटी न्यूज
