भौतिक पूर्वाधारलाई कति बजेट ?

purbadhar
लाेकपाटी न्यूज

काठमाडौं, १६ जेठ। सरकारले आर्थिक वर्ष ०७६\ ७७ को बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको छ।सडक, रेल तथा जल यातायात क्षेत्रको पूर्वाधार निर्माण गर्न एक खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटबाट आगामी आवको निम्ति देशैभरका राष्ट्रिय राजमार्गदेखि रेलमार्गसम्मको पूर्वाधार विकास गर्ने उल्लेख छ।

बजेटको प्राथमिकतामा पुनर्निर्माण पनि परेको छ। सरकारले पुनर्निर्माणको कार्यलाई तीव्रता दिन एक खर्ब ४१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ। विकासको पूर्वाधारका रूपमा रहेको सडक यातायात सञ्जाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आबद्धता तथा क्षेत्रीय सन्तुलनको मुख्य आधार बनाउने गरी पूर्वाधार विकास गर्ने अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ।

दुई छिमेकी मुलुकसँगको व्यापार सहजीकरण, लगानी प्रवद्र्धन र पर्यटन विकासका निम्त आबद्धता बढाउन हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण गरिनेछ। यस्तो कार्यले अब देशैभर मध्यम खालको सडक स्तरोन्नति हुने र नयाँ सडक दुई लेनमै बन्ने उल्लेख छ।

पूर्वपश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउने योजना पनि सरकारले अगाडि सारेको छ। सुरक्षित गतियुक्त सडकका रूपमा विस्तार गर्न आगामी आवमा वुटवल नारायणगढखण्ड र कमला कञ्चनपुर खण्डको निर्माणलाई तीव्रता दिइने उल्लेख छ।

बाँकी खण्डको विस्तृत सम्भाव्यता अध्ययनको कार्य सम्पन्न गरी पूर्व, मध्य र पश्चिमतर्फबाट निर्माण कार्य हुनेछ। पूर्वपश्चिम राजमार्ग निर्माण तथा स्तरोन्नतिका निम्ति १९ अर्ब १८ करोड, मध्यपहाडी (पुष्पलाल) राजमार्गलाई १२ अर्ब २० करोड र हुलाकी राजमार्गका लागि १३ अर्ब ६३ करोड विनियोजन गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्