आयोगका पदाधिकारीद्वारा सपथ ग्रहण

sapatha grahan
लाेकपाटी न्यूज

काठमाडाैं, १५ जेठ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगका पदाधिकारीले सपथ ग्रहण गरेका छन् । आयोगका अध्यक्ष मोहनरमण भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट सपथ ग्रहण गरेका छन् । आयोग अध्यक्ष भट्टराईलाई सर्वोच्च अदालतमा नै प्रधानन्यायधीश राणाले सपथ ग्रहण गराएका हुन् ।

यसैगरी अध्यक्ष भट्टराईले आयोगका सदस्यहरु जानकी बल्लभ अधिकारी, जगतबहादुर देउजा र दुर्गा दाहाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यकक्षमा सपथ ग्रहण गराएका छन् ।उक्त सपथ ग्रहण समारोहमा मन्त्री पद्माकुमारी अर्याल, सचिव गोपीनाथ मैनाली लगायतको उपस्थिति रहेकेा थियो ।

सपथग्रहण समारोहमा बोल्दै मन्त्री अर्यालले लोभ लालचमा नपर्न आयोगका पदाधिकारीलाई निर्देशन दिएकी छन् । ‘जटिल र चुनौतीपूर्ण विषय छानविन गर्ने जिम्मा सरकारले तपाईहरुलाई सुम्पेको छ,’ उनले भनिन्, यो चानचुने कुरा होइन, लोभलालचमा नपर्नु होला, राष्ट्रको गहन जिम्मेवारी दिइएको छ।’ उनले आयोगले अतिक्रमित जग्गाको खोजविन गरी फिर्ता गराउने समेत बताइन् ।

आयोग अध्यक्ष भट्टराईले भूमि र जग्गाको क्षेत्रमा रहेको विकृतिलाई टुङ्गोमा पुर्‍याउने सरकार र जनअपेक्षा अनुरुपमा काम गर्ने बताए । उनले स्वतन्त्र भएर काम गर्ने वातावरण बनाइदिन  सरकार र राजनीतिक दलसँग आग्रह गरे । उनले आयोगका काम कारवाही गोप्य हुने समेत बताए ।

मन्त्रालयका सचिव मैनालीले आयोगको जिम्मेवारीको बारेमा प्रकाश पारे। उनका अनुसार आयोगले सरकारी, सार्वजनिक अतिक्रमण जग्गाकाे  खोजविन गर्ने, गुठीको जग्गाको छानविन, सरकारी, सार्वजनिक तथा गुठीको जग्गाको अभिलेख संरक्षण गर्न सुझाव दिने र जग्गा हिनामिनाको छानविन र कारवाहीको सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्