काठमाडौं, १५ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्ने भएका छन्। नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गर्न लागेको हो।
कार्यक्रममा सहभागी हुन काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल युन र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले संयुक्त रूपमा आमन्त्रण गरेका छन्। प्रेसिडेन्ट युनले युनिभर्सिटीका तर्फबाट ओलीलाई उपाधि प्रदान गर्नेछन्। ओलीले ग्रहण गर्न लाएको यो चौथो मानार्थ विद्यावारिधि उपाधि हो।
यसअघि सन् २०१० मा मध्यअमेरिकाको बेलिजमा रहेको भनिएको र काठमाडौं शंखमूलमा सम्पर्क कार्यालय रहेको ग्रिनफोर्ड इन्टरनेसनल युनिभर्सिटीले ओलीलाई राजनीतिशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो।
ओलीलाई पहिलो पटक प्रधानमन्त्री हुँदा भारतमा मानार्थ विद्यावारिधि प्रदान गर्दै सम्मान गरिएको थियो। भारतको तीनदिने राजकीय भ्रमणमा रहेका बेला उत्तराखण्डको डा. गोविन्द बल्लभ कृषि तथा प्रविधि विश्वविद्यालयले उपाधि प्रदान गरेको हो।
त्यस्तै मध्य अमेरिकी मुलुक कोस्टारिकाको युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले ओलीलाई नेपालमा शान्ति तथा लोकतन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो।



लाेकपाटी न्यूज

