काठमाडौं। सभामूख कृष्णबहादुर महराले न्याय र समानताका लागि गणतन्त्र दिवसले सबै नेपालीलाई अभिप्रेरित गर्नुपर्ने बताएका छन्।
१२ औं गणतन्त्र दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै महराले गणतन्त्र दिवस नेपालकै इतिहासमा ऐतिहासिक दिन भएको पनि बताएका छन्। सन्देशमा उनले गणतन्त्र स्थापनाका लागि संघर्ष गर्ने योद्धाहरुको संघर्षको स्मरण गरेका छन्।
सभामूख महराको शुभकामना !
राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शुरुवात गरिएको आजको दिन नेपाली राजनीतिक इतिहासको एक ऐतिहासिक दिन हो। ११ वर्षअघि आजकै दिन २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाले राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियो । देशको शासन व्यवस्था नै परिवर्तन गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको आजको दिनलाई राज्यले नेपाली राजनीतिको ऐतिहासिक महत्वका साथ गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।
सर्वप्रथम गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । गणतन्त्र नेपाल प्राप्तिको महाअभियानमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सबै महान सहिदहरुप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै संघर्षका दौरानमा बेपत्ता, घाइते एवं अपाङ्गता हुनुभएका सबै योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।
विगतका ऐतिहासिक राजनीतिक संघर्षहरुबाट हामीले गणतन्त्र, नयाँ संविधान, धर्मनिरपेक्षता, समानुपातिक/समावेशी शासन व्यवस्थालगायतका उपलब्धिहरु प्राप्त गरेका छौं ।
प्राप्त उपलब्धिहरुको संस्थागत विकास गर्दै सामाजिक न्याय, समानता र समृद्धिको यात्रालाई सँगसँगै अगाडि बढाउनुपर्ने महत्वपूर्ण कार्यभार हाम्रासामू छ । यो यात्रामा हामी सफल हुन सकेमा मात्रै साँचो अर्थमा गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ । नेपाली जनताबीच आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकता सुदृढ गर्न गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । फेरि पनि गणतन्त्र दिवस २०७६ को अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।



लाेकपाटी न्यूज

