काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्धिपक्षीय महत्वबारे छलफल हुने स्पष्ट पारेका छन्।
ओली बिहीबार दिउँसो भारत जाँदैछन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सल्लाहकार डा. भट्टराईले यस्तो जानकारी गराएका हुन्।उनले भने,‘भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुनको लागि निम्तो आएको छ। विमस्टेक राष्ट्रका सबै सदस्य सहभागी हुने कार्यक्रम छ।
त्यसबाहेक किजिकिस्तानका राष्ट्रपति र मोरिससका प्रधानमन्त्री पनि आउने कार्यक्रम छ भन्ने जानकारीमा आएको छ।’ बिहीबार साँझ हुने सपथ ग्रहणमा सहभागी भएर ओली भोलिपल्ट (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम रहेको भट्टराईले बताए । साक्षात्कारमा बोल्दै उनले त्यही बिचमा मोदी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने पनि स्पष्ट पार ।
उनले भने,‘यो प्रधानमन्त्रीको छोटो भ्रमण हो। नेपाल–भारत द्धिपक्षीय महत्वका विषयमा उहाँहरुबीच सामान्य छलफल हुन्छ।’
नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि सम्बन्ध सुमधुर हुने उनको विश्वास छ।
भट्टराईले नेपाल र भारतबीच अरुको भन्दा बढि नै चासो रहेको पनि सुनाए। उनले भने,‘हामीबीच बहु-आयामिक सम्बन्ध छ। धेरै विषय भएकोले समस्या पनि छन्।
पछिल्लो समय समस्याहरु पनि समाधानतर्फ उन्मुख छन्।’ सन् २०१८ मा तीन चार वटा विषयहरु समाधान गर्न सफल भएको उनको दाबी छ। उनले थपे,‘बाँकी विषयहरु पनि द्धिपक्षीय वार्ता गरेर समाधान गर्नेतर्फ नै हामीहरु अघि बढिरहेका छौं।’उनले नेपाल र भारतबीच अब २१ औँ शताब्दीअनुसार युग सुहाउँदो सम्बन्ध कायम गर्नुपर्ने पनि जनाए उनले भने,‘नेपाल र भारतबीच अब उदाहरणीय सम्बन्ध राख्नुपर्छ।’



लाेकपाटी न्यूज

