विप्लव नेकपासँग कति छन् सेना र हतियार ?

biplab leaders
लाेकपाटी न्यूज

काठमाडौं। सोमबार प्रतिनिधि सभाको बैठकलाई जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपासँग ४ कम्पनि सेना भएको बताएका छन्। आइतबार बेलका काठमाडौं उपत्यकामा भएका श्रृङ्खलावद्ध बिस्फोटमा चार जनाको ज्यान गएपछि संसदलाई जवाफ दिन्दै थापाले उक्त कुरा बताएका हुन्।

केही महिनाअघि एनसेलले नेपाललाई कर नतिरेको भन्दै विप्लव नेकपाले उपत्यकामा बम बिस्फोट गराएको थियो। बम बिस्फोटमा परी एनसेलका एक जना सुरक्षा गार्डको निधन भएको थियो। लगत्तै बसेको मन्त्रीपरिषदको बैठकले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। प्रतिबन्धको पक्ष र विपक्षमा राजनीति ध्रुवीकृत भए पनि सरकार निर्णयबाट हालसम्म पछाडि हटिसकेको छैन।

सरकार र विद्रोही नेकपाबीच अनौपचारिक सम्वाद जारी रहेको बताइए पनि यथार्थ अझै सार्वजनिक भएको छैन। प्रतिबन्धपछि प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहमाथि कठोर रुपमा प्रस्तुत मात्र भएका छैनन,् यस बीचमा प्रहरीले विप्लवका दर्जनौं केन्द्रीय सदस्यसहित सयौंलाई गिरफ्तार गरिसकेको छ। तर, विप्लवका गतिविधि एकपछि अर्को बढिरहेका छन्।

सोमबार गृहमन्त्री थापाले संसदमा गरेको सम्बोधनले विप्लव समूह कमजोर नभएको पुष्टि हुन्छ। नेपाली सेना, पूर्वराजा, छिमेकी लगायतका शक्तिबाट सहानुभूति प्राप्त गरेको विप्लव समूहमा कति लडाकु छन्, कति बर्दीधारी र हतियारी सेना छन् ? त्यो स्पष्ट भइसकेको छैन। तर, गृहमन्त्रीले ४ कम्पनि सेना भएको सार्वजनिक अभिव्यक्ति दिएका छन्। एक कम्पनिमा १५० जनाको दरले हिसाब गर्ने हो भने पनि विप्लवसँग ६०० लडाकु सेना रहेको मान्न सकिन्छ। तर, सरकारी दावीभन्दा उनीसँग बढी नै शक्ति रहेको बुझ्न सकिन्छ।

विप्लवले वैद्यबाट अलग भएपछि भनेका थिए, ‘विप्लवले बन्दुक कति लुकाएको छ भन्ने गरिन्छ। यो कुरा गर्दाखेरी प्रचण्डजीलाई सोध्नुपर्छ। प्रचण्डजीले सबै बन्दुक हामीले बुझाइसक्यौ भन्नुभाछ। त्यसकारण यो प्रश्न मलाई सोध्नुभएन। तर बन्दुक कति छ ? भनेर सोध्दा मैले भन्ने गरेको छु, यहाँ योजना भयो भने बन्दुक जतिखेर पनि आइपुग्छ। मान्छेको दिमागमा बन्दुक छ भने जतिखेर पनि आइपुग्छ। अहिलेको विश्वमा बन्दुक अभावको महसुस नगर्नुस्।’

बैठकमा उपस्थित केही केन्द्रीय सदस्यले विप्लवलाई लिखित प्रश्न पनि गरेका थिए। त्यसको जवाफ दिँदै विप्लवले भनेका थिए, ‘यसमा सबै हुन्छ। एउटा गाउँमा मात्रै लड्ने काठमाडौंमा नलड्ने भन्ने हुँदैन। काठमाडौंमा मात्रै लड्ने गाउँमा नलड्ने, त्यसो हुँदैन। अहिले गाउँको जनतामात्रै पीडित छैनन्। आजको जो संसदवादी दलहरुले गरिरहेका निर्णयहरु, विदेशीका इसारामा भएका हर्कतहरु त्यसको मारामा सहरका मानिस पनि छन्। त्यसको मारमा किसानमात्रै होइन। बुद्धिजीवी र मध्यम वर्ग पनि छ। मलाई लाग्छ त्यसको मारमा राष्ट्रवादीहरु पनि छन् र राष्ट्रिय पुँजीपति वर्ग पनि छ। यी सबैलाई एकताबद्ध गरेर लड्नु आजको संघर्षको स्वरुप हो। त्यसकारण सबैतिरबाट एकैपटक लड्नुपर्छ। गाउँ र सहर भन्ने हुँदैन’ विप्लवले जवाफमा भनेका थिए।

त्यसबेला केन्द्रीय कमिटीमा विप्लवले दिएका यी जवाफ अहिले मिल्दै गएको देखिन्छ। प्रहरीले पछिल्लो समय विप्लव समूहबाट फुत्तफुत्त अत्याधुनिक हतियार, म्याग्जिन, गोली बरामद गर्नु र विप्लवले हतियारको अभाव नहुने बताउनु संयोग मात्रै हो वा वास्तविकता ? त्यो पुष्टि हुँदै जाला। एक विज्ञप्ति जारी गर्दै उनले ‘मुखतोड जवाफका लागि पूर्ण रुपले तयार भइसकेको’ बताएका छन्। यसले विप्लव पार्टी हतियार सुसज्जित बन्दै गएको हो त भन्ने प्रश्नसमेत खडा गरेको छ।

दसवर्षे सशस्त्र सङ्घर्ष छाडेर माओवादी शान्ति प्रक्रियामा आएपछि बेलाबेलामा अत्याधुनिक हतियार बरामद हुन थालेका थिए। २०७० कात्तिक २८ गते जाजरकोट सदरमुकाम खलंगास्थित पिपेको रानी वनमा प्लास्टिकले बेरेर खाल्डो खनेर गाडिएको अवस्थामा प्रहरीले ४४ थान एसएलआर, ६ थान थ्री नट थ्री, २ थान टु इन्च मोर्टार र एके–४७ मा प्रयोग हुने ३ सय ८५ राउन्ड गोली बरामद गरेको थियो। २०७१ साउन ६ गते एके–४७ राइफलसहित मनाङबाट नवीन र उजिर मगर समातिएका थिए।

२०७३ पुस ३ गते जुम्लाबाट २ थान एसएलआर बन्दुक बरामद भयो। २०७५ फागुन २३ गते कपिलवस्तुस्थित विप्लवको गाउँमा सर्च गरेर प्रहरीले एसएमजी २ थान, त्यसको गोली ६८ राउन्ड, त्यसको म्याग्जिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान, त्यसको गोली ३ राउन्ड, ५।५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्याग्जिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद गरेको थियो।

त्यसभन्दा अघि फागुन १५ गते प्रदेश–१ प्रहरीले धरानबाट एलएमजी (लाइट मेसिन गन) र एम–१६ एकएक थानसहित विप्लव समूहका संगीत भनिने देवकुमार लिम्बूलाई पक्राउ गरेको थियो। माओवादी चलाएको जनयुद्धका बेला ग्रामीण क्षेत्रमा जमिनमुनि गाडिएका हतियार विभिन्न कालखण्डमा उत्खनन् हुँदै आएको छ। अझै त्यस्ता हजारौं हतियार फेला पर्ने अनुमान गर्न सकिन्छ।

कति छन् विप्लवसँग हतियार ?

सशस्त्र युद्धका तत्कालीन माओवादीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल आर्मीबाट थुप्रै हतियार कब्जा गरेको थियो। प्रहरीका ३ हजार ४ सय ९, सशस्त्रका १ हजार ८ सय ६९ र सेनाका ८ सय गरी ५ हजार २ सय ८६ हतियार माओवादीले त्यसबेला कब्जा गरेको थियो। आफूसँग भएका अन्य हतियारसहित ६ हजार ७८ थान हतियार माओवादीसँग थियो।

तर, शान्ति प्रक्रियामा आउँदा माओवादीले ३ हजार ४ सय ७५ थान हतियार मात्रै संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) को निगरानी अन्तर्गत राख्यो। पार्टीभित्र चलेको वैचारिक सङ्घर्षको प्रभाव हतियार व्यवस्थापनमा पनि देखिएको थियो। वैद्य र विप्लवसँग नजिक रहेका जनसेनाका कमाण्डरहरुले प्रचण्ड–बाबुरामलाई छलेर हतियार लुकाएको त्यतिबेलै अनुमान गरिएको थियो। त्यसो त वैद्य र विप्लवनिकट नेताहरुले आफ्नो सूरक्षाका लागि दिइएका हतियारसमेत फिर्ता गरेनन्।

वैद्यसँग इन्सास, एसएमजीसहित ३, रामबहादुर थापा (बादल) सँग २, विप्लवसँग ३, मातृकासँग ४ थान हतियार थिए। तर, उनीहरुले उक्त हतियार बुझाए कि बुझाएनन्, त्यो अझै रहस्यमै छ। २०६९ मंसिर १० गते १४ सय ६० माओवादी लडाकु नेपाली सेनामा समाहित भएपछि तिनै बाँकी हतियार बुझाउन २०६९ चैत २२ गतेसम्मको म्याद तोकिएको थियो।

हतियार फर्काउन सरकारले ताकेता गरिरहेको बेला माओवादी पार्टी, प्रचण्ड, वैद्य, मातृका यादव, मणि थापाको नेतृत्वमा ५ वटा पार्टी थिए। त्यसबेला सरकारलाई नबुझाएका २ हजारभन्दा बढी थान हतियार अझै फेला पर्न सकेको छैन। यीमध्ये धेरैजसो हतियार विप्लव समूहले लगेको हुनसक्ने आँकलन गरिएको छ।

सुरक्षा निकायले विप्लव समूह कति शक्तिशाली छ, कति हतियार छन् भन्नेबारे पनि गोप्य रुपमा लेखाजोखा गरिरहेको छ। विप्लव समूहलाई नजिकबाट नियालेका प्रहरीको विशेष ब्युरोका एक अधिृकत विप्लव समूहसँग ५ देखि ७ सयसम्म हतियार भएको बताएका थिए। तर, प्रहरीसँग पनि कुनै तथ्य छैन, यी सबै अनुमानमा आधारित छन्।

हतियारका साथै विप्लव माओवादीसँग सकेट बम, कुकुर बम, सिलिण्डर बम, जिलेटिन, टिएनटीजस्ता बिस्फोटक पदार्थ पनि छन्। आइतबार गरिएका अधिकांश बिस्फोट विप्लव समूहका कार्यकर्ता आफैंले तयार पारेको बुझ्न सकिन्छ। ग्रिनेट लगायतका घरेलु तयार निर्माणमा पनि विप्लव समूह सक्रिय नै देखिन्छ। प्रहरी र सेनासँग लड्ने अत्याधुनिक र पर्याप्त हतियार विप्लवसँग छैन। तर, राज्यलाई अल्मलाउन सक्ने हैसियत विप्लवले बनाउँदै गएको देखिन्छ।

कति छन् लडाकु र तालिमप्राप्त सेना ?

माओवादी शान्ति प्रक्रियामा आउँदा करीब ३५ हजार जनसेनाको प्रमाणीकरण गरिएको थियो। राजनीतिक विवादका कारण त्यो संख्या घट्दै १९ हजार २ सयमा झरेको थियो। अन्तिममा सेना समायोजनमा १५०० जनसेना मात्र सहभागी भए। बाँकी ३३ हजार कहाँ गए ? यतातिर सरकार र सुरक्षा निकायले पनि खासै चासो दिएन वा दिन जरुरी ठानेन।

३३ हजार पूर्वजनसेनामध्ये केही राजनीतिक जीवनमा फर्किएका छन्, केही पेशा–व्यवसायमा लागेका छन्। ठूलो संख्या वैदेशिक रोजगारीका क्रममा खाडीमा छन्, त्यसबाहेक जति नेपालमा छन्, तीमध्ये ठूलो संख्या विप्लव समूहमा नै लागेका छन्। सरकारी नेकपातिरै लागेका अधिकांश घाइते, अपाङ्गहरुले पनि राज्यसँग आफूहरुले उपचार नपाएको गुनासो गर्दै आएका छन्, त्यसको प्रत्यक्ष लाभ पनि विप्लव समूहले नै उठाइरहेको छ।

शान्ति प्रक्रियाका पछिल्ला वर्षमा विप्लव समूह सरकारसँग असन्तुष्ट युवाहरुलाई समेट्ने प्रयासमा छ। उनीहरु राजनीतिक चरित्रका हुन् वा नहुन्। तर, विप्लव समूहले उनीहरुलाई विभिन्न नाममा परिचालन गरेको छ, जुन कुरामा सरकारले खासै चासों दिएको छैन। सरकारप्रतिको बितृष्णालाई विप्लवले संगठित रुप दिइरहँदा नेकपाका नेताहरु र सरकारका उच्चपदस्थ अधिकारीहरु भने पूरानै माओवादीमध्ये विप्लवतिर कति छन् ? भन्ने मात्र हिसाब गर्ने गरेका छन्। नयाँ मान्छे कति थपिए, कति संगठित गरे, यतातिर चासो नै दिएको देखिँदैन।

गृहमन्त्री स्वयंले विप्लवसँग ४ कम्पनि सेना भएको स्वीकार गर्नु सामान्य कूरा होइन। यसलाई हतियार चलाउन जान्ने नियमित सेना मान्ने हो भने बम, बारुद बनाउन सक्ने, सप्लाइको काम गर्नसक्ने कार्यकर्ता कति होलान् ? यो निकै महत्वपूर्ण प्रश्न हो। सरकारप्रतिको असन्तुष्टिमा खेल्न प्रतिपक्षी कांग्रेसभन्दा विप्लव समूह माहिर देखिएको छ। यसले पनि सरकारलाई सूरक्षा चुनौति थपिदिएको छ।

कता जाला विप्लवको विद्रोह ?

विप्लव समूह सरकारी नेकपाभित्रको मतभेदलाई सकेसम्म उपयोग गर्न चाहन्छ। उनीहरुका सार्वजनिक अभिव्यक्ति र गतिविधि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलविरुद्ध बढी लक्षित देखिन्छन्। सरकारी नेकपाभित्र आफ्नै पार्टीका नेताहरुको प्रतिरक्षा गर्ने सोंचको विकास नहुँदा त्यसको फाइदा विप्लव समूहले लिएको छ। शीर्ष नेताहरुकै तहमा रहेको शीतयुद्धको काफी फाइदा उठाइरहेको छ विप्लव नेकपा।

त्यसका साथै नेपालमा वामपन्थीको बहुमत र २ तिहाईको सरकार देशभित्र र बाहिरका शक्तिहरुका लागिसमेत स्वीकार्य देखिँदैन। प्रतिपक्षी कांग्रेस, मधेशकेन्द्रित दल, पूर्वराजावादी शक्ति, दक्षिणको शक्ति केन्द्र र नेपाली सेनाका पूर्वजनरलको एउटा समूहले समेत विप्लवप्रति सहानभूति राख्न थालेका छन्। यहाँ एकले अर्कालाई उपयोग गर्ने रणनीति भए पनि तत्कालका लागि सरकार कमजोर बनाउन सबै एक ठाउँ उभिएको देखिन्छ।

विप्लव समूह सरकारलाई थकाएर वार्तामार्फत् राजनीतिक लाभ लिन खोजेको हो त ? यो प्रश्न पनि उठेको छ। भित्रभित्रै सम्वादको प्रक्रिया चलिरहेको प्रसङ्ग उठिरहेका बेला भएका बिस्फोटका घटनाले विप्लव फौजी धक्का दिएर सरकारलाई राजनीतिक दवावमा राख्न खोजेको त छैन ? यो अनुमान पनि असत्य छैन। तर, तत्कालै विप्लव समूह वार्तामा आउने लक्षण देखिँदैन, किनकि सरकार आफ्ना मागमा लचक भएर आउला भन्ने उक्त समूहमा विश्वास देखिँदैन।

विप्लव समूहले विद्रोहमार्फत् सत्ता कब्जा गर्ने सामर्थ्य राख्दैन, त्यसका केही कारण छन्। पहिलो अविछिन्न नेतृत्वको अभाव, २. विज्ञान प्रविधिको विकास र त्यसले निम्त्याएको चुनौति, ३. समाजवाद र साम्यवादको सपनाभन्दा व्यक्तिवादमा रमाएको ठूलो समूह, ४. राजनीतिक वैचारिक सुझबुझको अभाव, ५. जनतामा रहेको अविश्वास, ६. क्रान्तिको कार्यदिशाबारे विप्लव समूहमा रहेको अन्यौल, ७. एउटा युद्ध झेलिसकेको पुस्तामा युद्ध वा हिंसाप्रतिको अरुचि आदित्यादि। यी कारण नै विप्लव माओवादीका सामू सबैभन्दा ठूला चुनौति पनि हुन्।

राज्यसत्तामाथि विजय सामान्य कुरा होइन। विप्लवको मनोगत चाहनाले पनि त्यो पूरा हुँदैन। ढिलो वा चाँडो विप्लव समूहको विद्रोहले ३ रुप धारण गर्छ नै, १. सहमतिको राजनीतिक यात्रा, २. नरसंहार वा आत्मसमर्पण र ३. घुमन्ते विद्रोहको गोलचक्कर। यी तीनमध्ये सरकारको पहिलो कोशिस सम्वादका माध्यमद्वारा सहमतिको मार्गमा ल्याउनु हो। त्यसो हुन नसके मुलूक केही वर्ष घुमन्ते छापामार युद्धको गोलचक्करमा पर्नेछ।