काठमाडौं असुरक्षित रहेकाे भन्दै अष्ट्रेलिया सरकारद्वारा सूचना जारी

लाेकपाटी न्यूज

काठमाडौं, १३ जेठ । नेपालको राजधानी काठमाडौंमा आइतबार भएका श्रृंखलाबद्ध बम विष्फोटका घटनापछि असुरक्षा बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई नेपाल रहँदा सचेत रहन सूचना जारी गरेको छ।

अस्ट्रेलिया सरकारको विदेश तथा व्यापार विभागले जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा काठमाडौंमा भएका हिंसात्मक घटना विदेशीप्रति लक्षित नभए पनि अन्य पक्षलाई निसाना बनाउँदा आक्रमणमा पर्नसक्ने अवस्था रहेको भन्दै सचेत रहन आग्रह गरिएको हो।

काठमाडौं तथा नेपालका अन्य भागको भ्रमण गर्दा भीडभाडभन्दा परै रहन आग्रह गरिएको छ। सोमबार जारी सूचनामा भनिएको छ, ‘प्रदर्शन, विरोध तथा सार्वजनिक भेलाहरुबाट परै बस्नू। योजना बनाउँदा संभावित हिंसाबारे सञ्चार माध्यम र स्थानीय स्रोतहरुको सल्लाहहरुलाई ध्यान दिनु। त्यस्ता क्षेत्रमा नजानु।’

सडक अनिश्चितकालसम्म अवरुद्ध हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन समेत उसले आफ्ना नागरिकलाई आग्रह गरेको छ। ‘हड्ताल भएको समयमा सचेत रहनु र आफ्नो गतिविधिलाई कम गर्नु, पानी, खानेकुरा, ब्याट्री, नगद र औषधीजस्ता अत्यावश्यक वस्तु पर्याप्त मात्रामा राख्नु’, अष्ट्रेलिया सरकारले जारी गरेका सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्