अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग बाणिज्य संघले एक करोड दिने

CRICKET STUDIAM
लाेकपाटी न्यूज

चितवन, १०, जेठ। चितवनको गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग बाणिज्य संघले रु. एक करोड दिने भएको छ।

चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि संघले एक करोड सहयोग गर्ने घोषणा गरेको हो। संघले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरी रंगशालाका लागि एक करोड रुपैयाँ सहयोग गर्ने बताएको छ।

चितवन महोत्सव २०७५ को आय व्यय विवरण सार्वजनिक गर्ने क्रममा संघका अध्यक्ष सहनलाल प्रधानले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रंगशालाका लागि संघका तर्फबाट तत्काल ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने बताए। बाँकी रकम सहयोग गर्दै जाने अध्यक्ष प्रधानले जानकारी दिए। यसअघि संघले काठमाडौंमा भएको रंगशाला घोषणा कार्यक्रममा २१ लाख सहयोग गर्ने बताएको थियो। त्यही रकमलाई बढाएर १ करोड रुपैयाँ र्पुयाएको अध्यक्ष प्रधानको भनाइ छ।

‘हामी एक करोडभन्दा पनि बढी रकम कसरी सहयोग गर्न सकिन्छ भनेर लागिरहेका छौं’ अध्यक्ष प्रधानले भने, ‘यो राष्ट्रिय गौरवको आयोजना भएकोले सबै नेपालीको साथ आवश्यक छ।’ भरतपुर महानगरपालिका वडा नः १५ मा अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम भइरहेको छ।

यसैबीच, भरतपुर महानगरपालिका बोर्ड सदस्यहरुले एक महिनाको तलब रंगशाला निर्माणका लागि दिने भएका छन्। महानगरपालिकाको बोर्ड बैठकले रंगशाला निर्माणका लागि रकम सहयोग गर्ने निर्णय गरेको हो। यसैगरी, चितवन जिल्ला भरका सरकारी कार्यालयका कर्मचारीहरुबाट रंगशाला निर्माणका लागि के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले जिल्लाका सबै कार्यालय प्रमुखहरुसँग छलफल गरेका छन्।

उनले जिल्लाका कार्यालय प्रमुखहरुसँगको बैंठकमा रंगशाला निर्माणका लागि सबै कार्यालयका तर्फबाट सहयोग गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्