ओली र प्रचण्डबीच बालुवाटारमा ३ घण्टा ‘गोप्य’ छलफल

Prachanda-Oli.jpg01
लाेकपाटी न्यूज

काठमाडौं, ८ जेठ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा ‘गोप्य’ छलफल भएको छ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको दुई नेताबीचको छलफल करिव ३ घण्टा चलेको बालुवाटार स्रोतले जनाएको छ। बिहान ९ बजे बालुवाटार पुगेका प्रचण्ड र ओलीबीचको तीन घण्टा गोप्य छलफलपछि उनीहरुले पार्टीका माहासचिव विष्णु पौडेललाई पनि बालुवाटार डाकेका थिए।

त्यसपछि ओली प्रचण्ड र महासचिव पौडेलबीच त्रिपक्षीय छलफल भएको छ। ओली र प्रचण्डबीच भएको उक्त छलफलमा सरकारका काम कारवाहीप्रति बाहिर भएका आलोचना, नेकपाको एकता प्रक्रियामा भएको ढिलाइ, सरकारले ल्याएको विधेयक तथा जेठ १५ मा सार्वजनिक गर्न लागिएको बजेटलगायतका विषयमा कुराकानी भएको बताइएको छ।

पछिल्लो समय सरकारले संसदमा पेश गरेका मिडिया काउन्सिललगायतका विधेयकमा प्रमुख प्रतिपक्ष दल तथा सञ्चारकर्मीहरुले चर्को विरोध गर्दै आएका छन्।नेताहरुबीच छलफलपछि चाँडै नै सचिवालय बैठक बोलाउने विषयमा पनि कुराकानी भएको बताइएको छ।

सार्वजनिक खरिद ऐन संशोधन गर्न बनेको विधेयकका बारेमा निर्माण व्यवसायीहरुले जनाएको आपत्तिका विषयमा समेत दुई नेताबीच कुराकानी भएको बुझिएको छ।