पार्टीले अन्याय गर्‍यो, तर जिम्मेवारी सम्हाल्छु : रञ्जित तामाङ

Ranjeet tamang
लाेकपाटी न्यूज

काठमाडौं, ८ जेठ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का सह–अध्यक्ष रञ्जित तामाङले पार्टीले आफूलाई अन्याय गरेको गुनासो गरेका छन्। उनले आफूलाई फरक जिम्मेवारी दिनसमेत माग गरेका छन्।

‘एक संगठनको महासचिव संयोजक बन्ने र अर्को समान संगठनको अध्यक्ष सोभन्दा फरक पदमा रहने भन्ने कुरो रहँदैन,’ उनले भने। बुधबार बिहान गृह जिल्ला झापामा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अनेरास्ववियूको नेतृत्व चयनमा आफूमाथि अन्याय भएको बताएका हुन्।

पूर्वमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रहेका रञ्जित गत हप्ता पार्टी नेतृत्वले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका थिए। ‘मैले परिवारभन्दा माथि प्रचण्ड मानेको थिएँ, उनकै आदेश मानेको थिएँ। तर, ममाथि अन्याय भयो।’ उनले भने।

गत बिहीबार बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकले अनेरास्ववियूको अध्यक्षमा ऐन महर र सह–अध्यक्षमा रञ्जित तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। यसअघि महर अनेरास्ववियुको महासचिव थिए भने तामाङ अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष थिए।

पार्टी नेतृत्वले जिम्मेवारी तोक्दै गर्दा तामाङले त्यसप्रति आपत्ति जनाउँदै गृह जिल्ला पुगेर आफ्नो आधिकारिक धारणा राख्ने बताएका थिए। पार्टी एकता संगठनात्मक मात्र नभई भावनात्मक पनि हुनपर्ने भन्दै उनले नेकपामा त्यसको अभाव भएको जिकिर गरे।

विश्वविद्यालय, कलेज र निजि शैक्षिक क्षेत्रमा बेथिति बढेको बेला विधार्थी संगठन कुहिरोको काग बन्दै गरेको बताए। आफू अन्यायमा परेको सबै जनालाई जानकारी गराएको र अध्यक्ष प्रचण्डले एकतालाई पूर्णता दिन बलिदानी गर्नुपर्ने बताएपछि आफू नेतृत्वले दिएको जिम्मेवारी नछोड्ने उनले बताए।