काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाएका छन्।
आज समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले समितिलाई तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिँदै औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको बताए। देशभरका सबै स्थानीय तहमा स्वदेशी आयुर्वेद औषधि बिक्री वितरणको व्यवस्थापन मिलाई विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सकिने उनको धारणा थियो।
‘वैद्यखानाले आत्मनिर्भर मात्र नभई निर्यात गर्न सक्ने गरी क्षमता बढाउनुपर्छ। उत्पादन वृद्धि भयो भने आयात बन्द गर्ने काम हामी गर्छौं,’ मन्त्री पौडेलले भने। उनले समितिले आफैँ उत्पादन वृद्धि गरेर कमाउनुको विकल्प नभएको भन्दै आफ्नै आम्दानीको सुनिश्चितता भएमा समितिको आर्थिक स्थिति सहज हुँदै जाने उल्लेख गरे।
‘समितिले उत्पादन बढाउँदै आर्थिकस्तर सुधारको पहल गरेमा सरकारले औषधि बिक्रीमा समन्वय र सहयोग गर्नेछ। यसबाट समितिको काम निरन्तर हुनुका साथै कर्मचारीलाई सेवा सुविधा उपलब्ध गराउन पनि सरकारलाई सहज हुनेछ। सधैँ नोक्सानमा सञ्चालित संस्थालाई निरन्तरता दिन सरकारलाई पनि सहज नहुने भएकाले सबैको साथ र सहयोगीबाट समस्या समाधान गर्दै जानुको विकल्प छैन,’ मन्त्री पौडेलले भने।
मन्त्री पौडेलले मौलिकता, संस्कृति र पहिचानका लागि वैद्यखानाको विशेष महत्त्व रहेको उल्लेख गरे। ‘वैद्यखाना नेपालको मौलिक विधिबाट सञ्चालित संस्था हो। यसमा हाम्रो मौलिकतासँगै अध्यात्म र इतिहास जोडिएको छ। यो हाम्रो संस्कृति र परम्परा पनि हो। अहिले समितिको उत्पादन घट्दो छ, यो पनि बन्द हुने स्थिति भयो भने हाम्रो मौलिकता समाप्त हुन्छ,’ उनले भने। मौलिकता र संस्कृति जर्गेना गर्न पनि उत्पादन वृद्धि गर्नुपर्नेमा उनले जोड दिए।



लोकपाटी न्यूज

