अझैं टुंगिएन नेकपा एकता

Nekapa Party office
लाेकपाटी न्यूज

काठमाडौं, ६ जेठ । नेकपा एकता अझैं टुंगिन सकेको छैन। एकता प्रक्रिया अन्तर्गत नेकपाले जिल्ला कमिटीहरुलाई पूर्णता दिने क्रमलाई अन्तिम चरणममा पुर्‍याएको छ।

केन्द्रले प्रदेश र जिल्ला इन्चार्ज तोकेसँगै जिल्ला कमिटीलाई पूर्णता दिएर सपथ लिने क्रम जारी रहेको सम्बन्धित प्रदेश इन्चार्जहरुले बताएका छन्। नेकपाका अधिकांश जिल्ला तहमा एकता भैसकेको र केही जिल्लामा मात्रै बाँकी रहेको नेकपा केन्द्रीय कार्यलयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

यसअघिको सहमति अनुसार तत्कालीन एमाले र माओवादी केन्द्रबीच ५५ र ४५ का आधारमा जिल्ला कमिटीलाई पूर्णता दिने काम भइरहेको छ। यसै क्रममा तीन नम्बर प्रदेशका जिल्लाहरुमा एकता प्रक्रिया टुङ्ग्याउन आइतबार बसेको प्रदेश कमिटिको बैठकमा १० वटा जिल्लाको मात्रै एकता घोषणा गरिएको छ।

ललितपुर, काभ्रे र चितवन जिल्लाको एकता घोषणा गर्न नसकिएको नेकपा प्रदेश नम्बर ३ की प्रमुख अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। उनले चितवन र ललितपुरमा तत्कालीन माओवादी केन्द्र र काभ्रेमा तत्कालीन एमालेका तर्फबाट गृहकार्य हुन नसक्दा तीन जिल्लाको एकता घोषणा हुन नसकेको बताइन्।

शाक्यले यस्तो दाबी गरेपनि काभ्रे जिल्लामा तत्तकालीन एमालेका तर्फबाट ७८ जना हनुपर्नेमा १५ जना सदस्य खाली रहेको छ। जसमा ती १५ जना कुन पक्षका सदस्य राख्ने भन्नेमा विवाद रहेको छ।जिल्ला कमिटि अध्यक्ष टोपबहादुर वाइवाले पेश गरेका नाममा केही सदस्यले आपत्ति जनाएपछि एकता घोषणा हुन नसकेको हो। जसमा केन्द्रीय सदस्य समेत रहेको सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले समेत वाइवाले पेश गरेका नाममा असहमति जनाएका थिए।

एकताका क्रममा काभ्रे,ललितपुर काभ्रे र चितवनमा सामान्य समस्या आएको नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए ।उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ३ नम्बर प्रदेश कमिटीको बैठकमा तीन जिल्लामा पुराना जिल्ला कमिटीमा केही सदस्यहरु खाली रहेकाले ती सदस्यहरु मनोनित गरेर मात्रै गर्नुपर्ने आवाज उठेकाले रोकिएको हो ।

‘पछि थप्ने गरी घोषणा गर्ने या थपिसकेर भन्नेमा प्रदेश कमिटीमा छलफल भयो । छलफल हुँदा पहिला जिल्लामा थप्ने अनिमात्रै एकता घोषणा गर्ने सहमति भएको हो’ तामाङले रातोपाटीलाई बताए ।उनले तीनै जिल्लामा तत्कालै जिल्ला कमिटिका सदस्यहरु नियुक्त गरेर एकता घोषणा गरिने पनि बताए ।

गत बैशाख ९ गते जिल्ला तहको नेतृत्वमा एकता घोषणा गरेको केन्द्रले एक महिनाभित्र सवै जिल्ला कमिटीहरुलाई एकता गरिसक्न प्रदेश कमिटिलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्