काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको बताएका छन्। नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ-काठमाडौं सम्पर्क समितिद्वारा आज आयोजित एक कार्यक्रममा नेता कोइरालाले आर्थिक समृद्धि, सुशासन र राजनीतिक स्थायित्वका लागि नेकपा (एमाले)सँग मिलेर सरकार गठन गरिएको बताएका हुन्।
‘मुलुकमा सुशासन कायम गर्न, आर्थिक समृद्धि प्राप्तिका लागि हामीले सहकार्य गरेका हौं। सबै दलसँगको छलफल र सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधन हुनेछ,’ नेता डा कोइरालाले भने। उनले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रभावकारी कार्यान्वयन गर्न संविधान संशोधन आवश्यक रहेको औँल्याए।
कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले संविधान संशोधन गर्दा सहमतिका आधारमा गर्नुपर्ने धारणा राखे। उनले पार्टीभित्र भागबण्डा हुँदा पार्टी झन् कमजोर बन्दै गएकाले आपसी सहकार्य आवश्यक रहेको उल्लेख गरे। कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीका केन्द्रीय सदस्य वडाबाट लडेर आउने प्रावधान बनाउनुपर्नेमा जोड दिए। उनले पार्टीलाई एकताबद्ध बनाएर लगेमात्र आगामी निर्वाचन जितिने उल्लेख गरे।



लोकपाटी न्यूज

