विदेश पठाइदिने भनी ठगी गर्ने तीन जना पक्राउ

Arrest pic
लोकपाटी न्यूज

काठमाडौं। वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-९ सिनामङ्गल बस्ने ३० वर्षीय सुशान्त सिंह, कपिलवस्तुको कृष्णनगर नगरपालिका-११ घर भई काठमाडौं सिनामङ्गल बस्ने ३६ वर्षीय सल्लउदिन वेग तथा तेह्रथुमको फेदाप गाउँपालिका-८ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-८ हात्तीगौंडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकामध्ये सिंहले दुई जनालाई दुबई पठाउने भन्दै आठ लाख ४० हजार, वेगले दुई जनालाई कुवेत पठाउने भन्दै सात लाख २० हजार तथा दाहालले तीन जनालाई क्रोएसिया पठाउने भन्दै आठ लाख २५ हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहिन भएको पीडितको उजुरीका आधारमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्