सरकार निरंकुशतातर्फ अघि बढ्यो : पूर्व मन्त्री केसी

k c
लाेकपाटी न्यूज

काठमाडौं, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए त्यसका विरुद्धमा सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन तथा संघर्ष गर्ने चेतावनी दिएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले आफूहरु लोकतान्त्रिक आधारभुत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको जिकिर गरे। उनले भने,‘मिडिया काउन्सिलसम्बन्धी विद्येयक स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने ढंगले प्रस्तुत भएको छ।

यो सरकार गठन भएको आज १५ महिना एक दिन भयो, अहिलेसम्मको अवस्था हेर्दा यो सरकारले नियन्त्रणमुखी प्रवृत्ति अपनाएको छ।’ उनले सरकारले प्रेसमाथि गर्न खोजेको नियन्त्रणको कोशिस आफ्नो पार्टीलाई कुनैपनि हालतमा स्विकार्य नहुने बताए।

उनले भने,‘विद्येयकमा यस्ता प्रावधान छन अरे, जसमा पत्रकारलाई १५ वर्षसम्मको कैद र एक करोडसम्मको जरिवाना राखिएको छ। हामी यो विद्येयकको विपक्षमा छौं ।’ केसीले आफूहरु अन्तिमसम्म पनि यो विद्येयकको विरुद्धमा सडक र सदनमा विपक्षमा उभिने जनाए।

त्यस्तै, उनले सुरक्षा परिषद् सम्बन्धीको विद्येयकको पनि आफूहरुले विरोध गरेको जनाए । मानव अधिकारसम्बन्धी विद्येयकमा पनि संवैधानिक अधिकार कटौती गर्न खोजिएको केसीको आरोप छ। वर्तमान सरकार दुई तिहाईको दम्भमा निरंकुशतातर्फ अघि बढिरहेको बताउँदै केसीले भने,‘शक्तिको आडमा मुलुकलाई निरंकुशतातर्फ धकेल्ने कुरा हामीलाई स्विकार्य छैन् ।

हामी यो सरकारको कामबाट गम्भिर रुपमा आशंकित छौं ।’ यद्धपी उनले सरकारको गतिविधिहरु आफूहरुले केही समय धैर्यताका साथ प्रतिक्षा गरेर हेरेकोले अब भने सह्य नहुने जिकिर गरे। नेता केसीले बजेट पनि कर्मकाण्डी भएको आरोप लगाउँदै अझैपनि यो सरकारले ४० प्रतिशत भुकम्प पीडितहरुको घर बनाउन नसकेको बताए। उनले भने,‘तर, यो सरकार पानीजहाज र रेलको कुरा गर्छ।

जनताका आधारभूत कुरा सम्बोधन गर्नुपर्छ। सरकारले यतातर्फ ध्यान दिओस भन्ने म आग्रह गर्दछु।’ उनले वाईडबडी, ३३ केजी, बुढीगण्डकी, एनसेल, बालुवाटार, भृकुटीमण्डप, पशुपतिनाथ लगायतका विभिन्न काण्डका बारेमा वर्तमान सरकारले गम्भिर रुपमा छानबिन गरि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई आँट गरेर कारबाही गर्नुपर्ने माग गरे।केसीले बालुवाटार, पशुपति र भृकुटीमण्डप काण्ड अहिलेको वर्तमान सरकारले नगरेको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्