सुनको सिक्री चोरीको घटनमा संलग्न दुई जना पक्राउ

लोकपाटी न्यूज

काठमाडौं। प्रहरीले सुनको सिक्री चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। सुनका गरगहना खरिद गर्ने बहाना बनाई २ तोला २० लालको सुनको सिक्री लिई फरार भएका लिना नकर्मी र चित्र रञ्जन हजारालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

पक्राउ परेका लिना ललितपुर महानगरपालिका-३ पुलचोक बस्छन् भने काठमाडौं महानगरपालिका-२३ विशालबजार बस्ने हजारा भारत पश्चिम बंगाल राज्य मोदिनिपुर घाटल थाना कुशपता ग्रामका हुन्। हजारा विशालबजारमा जगन्नाथ ज्वलेर्स सञ्चालन गर्दै आएका छन्।

काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित नारायण ज्वेलर्समा शुक्रबार दिउँसो ५२ वर्षीया अपरिचित महिला सुनका गहना खरिद गर्ने भनी प्रवेश गरेकी थिइन्। २ तोला २० लालको सुनको सिक्री लिई फरार रहेकी ती महिला लिना रहेको प्रहरी अनुसन्धानको क्रममा खुलेको थियो। लिनाले चोरी गरेको सुनका गरगहना काठमाडौं न्यूरोडस्थित जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको भन्ने खुलेपछि ज्वेलर्सका सञ्चालक रञ्जनलाई समेत प्रहरीले पक्राउ गरेको हो।

लिनाले यसअघि पनि चोरीका करिब १७ ग्राम बराबरको सुनको सिक्री १ थान जगन्नाथ ज्वेलर्सलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले लिनाको साथबाट करिब २ तोला बराबरको सुनको सिक्री १ थान समेत बरामद गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्