धरहरा निर्माणमा स्थानीयको अवरोध

dharahara
लाेकपाटी न्यूज

कठमाडौं, ०३ जेठ । ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ । स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो ।

धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अबरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले बताए। करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको धरहरा निर्माणको काम स्थानीयले पैदल मार्ग खुलाउन माग गर्दै अवरोध गरेपछि प्रभावित भएको छ ।

स्थानीयले विगत ६ महिना यता आफूहरुलाई आवात जावतका लागि सहज बनाउन पनि पैदलमार्ग खुलाउन धराहरा निर्माण समितिसँग माग गर्दै आएका थिए । उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दबाब दिँदै आएका छन् । ६ महिनादेखि पैदलमार्ग समेत नखुलाइको कारण आफूहरु मारमा पर्नु परेको स्थानीय व्यापारी अनिता बुढाथोकीले जानकारी दिइन् ।

यता, धरहरा निर्माण समितिले धरहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग छलफल भइरहेको र आजै सो सम्बन्धमा आवश्यक निर्णय हुने पनि जनाएको छ । पूरातत्वविद् राजुमान मानन्धरले हुलाक कार्यालय र काठमाडौं मलको बीचका पैदल मार्ग खुलाएर स्थानीयको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री कार्यालयसँग आवश्यक छलफल भइरहेको जानकारी दिए ।

धराहरा निर्माण प्रोजेक्टका म्यानेजर श्रेष्ठले सुरक्षाको दृष्टिकोणले पनि पैदल मार्गलाई समेत रोकेर निर्माण कार्यलाई अघि बढाउनु परेको पनि स्पष्ट पारे । सो प्रोजेक्टले स्थानीयको मागलाई तत्काल सम्बोधन गरी धरहरा निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता उनले जनाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्