काठमाडौं। एक समय थियो- जतिबेला भिडियो निकै महत्त्वपूर्ण कुरा थियो। फोटो र भिडियो खिच्ने काम जटिल मानिन्थ्यो। भिडियो खिच्न सक्ने र क्यामरा हुने मानिसलाई निकै महत्वका साथ हेरिन्थ्यो। क्यामरा लिएर हिँड्न सक्ने मानिसको समाजमा बेग्लै शान हुन्थ्यो। प्रविधिको विकासले अब यो काम सजिलो र सरल बनेको छ।
हातहातमा मोबाइल छ। मोबाइलमा क्यामेरा छ। सुन्दर दृश्य भेट्ने बित्तिकै प्रायले फोटो र भिडियो खिच्न छुटाउँदैनन्। सामाजिक सञ्जालको विकास भएसँगै फोटो र भिडियोको प्रयोग अझ बढी भइरहेको छ। सामाजिक सञ्जाल पनि मानिसको अत्यावश्यक साधनमा समावेश भएको छ। अहिले मानिसहरू भौतिक रुपमाभन्दा धेरै समय सामाजिक सञ्जालमार्फत एकसाथमा रहने गरेका छन्।
फेसबुक, ट्विटर, युट्युब, टिकटक, पिनर्टेस्ट, इन्स्टाग्राम र लिंकडेन अहिले सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जालहरूमा पर्छन्। यी सामाजिक सञ्जालमा मुख्यतः खपत हुने र अत्याधिक रुचाइने सामाग्रीमा फोटो र भिडियो हुन्। सूचना सन्देशको साथसाथै मनोरञ्जनका सामाग्रीको प्रसारण, व्यवसाय पवर्द्धन गर्नेदेखि चुनावमा आफ्नो पक्षमा माहोल सिर्जना गर्न राजनीतिक दलहरूले सामाजिक सञ्जालमा भिडियो र फोटो सन्देश प्रसारण गर्नेक्रम बढ्दो छ। आजको यस्तो समयमा भिडियो सामाग्री बनाउने विषयमा जानकारी राख्नु अत्यावश्यक भइसकेको छ।
सामाजिक सञ्जालमा भिडियोको प्रभावकारिता अझ बढी छ। यदि तपाईं भिडियो सम्पादन (एडिटिङ) मा रुचि राख्नुहुन्छ तर तपाइसँग राम्रो भिडियो एडिटिंग गर्ने मोबाइल वा ल्यापटप छैन वा तपाईंको आफ्नो डिभाइसमा भिडियो एडिटिंग एप वा सफ्टवेयरहरू चल्दैन भने तपाईंले नि:शुल्क रूपमा वेबसाइटमा गएर भिडियो एडिटिंग गर्न सक्नुहुन्छ। आज हामी तपाईंहरूलाई निःशुल्क रूपमा भिडियो एडिटिंग गर्न सकिने वेबसाइटहरूको बारेमा जानकारी दिदैछौं।
क्लिपच्याम्प : क्लिपच्याम्प एक भिडियो एडिटिङ सफ्टवेयर हो, जसलाई माइक्रोसफ्टले सजिलोसँग भिडियो एडिटिंग गर्न डिजाइन गरेको छ। वेबसाइटमा यसलाई प्रयोग गर्न सबैभन्दा सुरुमा तपाईंले ब्राउजरमा गएर clipchamp.com टाइप गरी सर्च गर्नुपर्छ। त्यसपछि तपाईंले यसमा आफ्नो अकाउन्ट साइन इन गर्नुहोला। त्यसपछि यसको इन्टरफेस खुल्छ। यहाँ तपाईंले विभिन्न साइजका टेम्प्लेटहरु पनि पाउन सक्नुहुन्छ। आफ्नो आवश्यकता र रुचि अनुरूप यहाँ भिडियो बनाउन सक्नुहुन्छ।
क्यापविङ : भिडियो एडिटिङको लागि सफ्टवेयर क्यापविङ पनि हो। क्यापविङबाट भिडियो एडिटिङ गर्दा कम्पनीको लोगो देखिन्छ। यदि तपाईं लोगो नदेखिने बनाउन चाहनुहुन्छ भने चाहिँ पैसा तिर्न पर्छ। यसलाई प्रयोग गर्न सबैभन्दा सुरुमा तपाईंले ब्राउजरमा गएर kapwing.com टाइप गरी सर्च गर्नुहोस्। त्यसपछि यसको इन्टरफेस खुल्छ र अब तपाईंले साइन अप गर्नुपर्छ। अनि यसले तपाईंले कुन प्रयोजनका लागि प्रयोग गर्न चाहनुभएको, तपाईंले भिडियो बनाउनुको प्राथमिक लक्ष्य के हो जस्ता प्रश्नहरूको जवाफ दिनुपर्छ।
भिड : यो पनि एक सामान्य भिडियो एडिटिंग गर्ने वेबसाइट हो। यसलाई प्रयोग गर्न सबैभन्दा सुरुमा तपाईंले ब्राउजरमा गएर veed.io टाइप गरी सर्च गर्नुपर्छ। त्यसपछि यसको इन्टरफेस खुल्छ र अब तपाईंले साइन अप गरिरहनु पर्दैन।
क्यापकट : यो एक विशुद्ध निःशुल्क भिडियो एडिटिंग वेबसाइट हो। तपाईंले गुगल प्ले स्टोरमा गएर यसको एपलाई डाउनलोड गर्न पनि सक्नुहुन्छ। यसलाई प्रयोग गर्न ब्राउजरमा गएर capcut.com टाइप गरी सर्च गर्नुहोला। त्यसपछि यसको इन्टरफेस खुल्छ। यसका पनि साइन अप गर्नुपर्दैन तर यदि तपाईं आफ्नो प्रोजेक्टहरू अनलाइनमा सेभ गर्न चाहनुहुन्छ भने लगिन गर्न सक्नुहुन्छ। अब एडिट भिडियो अनलाइनमा गएर ब्लाङ्क क्यानभासमा क्लिक गरी भिडियो बनाउन सक्नुहुन्छ।
फ्लेक्सक्लिप : फ्लेक्सक्लिप पनि एक अनलाइन भिडियो एडिटिङ वेबसाइट हो। यसलाई प्रयोग गर्नको लागि ब्राउजरमा गएर flexclip.com टाइप गरी सर्च गर्नुहोला। त्यसपछि यसको इन्टरफेस खुल्छ। यसका लागि सुरुमै साइन अप गर्नुपर्दैन। यदि तपाईंलाई यो राम्रो लागेमा अन्त्यमा भिडियो एक्सपोर्ट गर्ने समयमा चै साइन अप गर्नुपर्छ। अब क्रियट अ भिडियोमा क्लिक गरी भिडियो बनाउन सक्नुहुन्छ।
माथि उल्लेखित वेबसाइटहरूको प्रयोग गरेर तपाईंले नि:शुल्क रूपमा भिडियोहरू बनाउन सक्नुहुन्छ। तपाइलाई ल्यापटप वा कम्प्युटरमा सफ्टवेयरहरू डाउनलोड गर्नुपर्ने झन्झट पनि लाग्दैन तर मोबाइल प्रयोगकर्ताका लागि माथिका विकल्पहरू प्रयोग गर्न झन्झटिला देखिन्छन्।



लोकपाटी न्यूज

